काभ्रे – फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवार राजेश कुमार श्रेष्ठ यतिबेला मतदाताको घर आँगनमा पुगिरहेका छन् ।
लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय श्रेष्ठ ‘आँखी झ्याल’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका श्रेष्ठ विकास, सुशासन र जवाफदेहिताको एजेन्डा बोकेर घरदैलो अभियानमा व्यस्त छन् ।
काभ्रे क्षेत्र नं. १ अन्र्तगत ६९ वटा वडामा यतिबेला स्वतन्त्र उम्मेदवार बनेका श्रेष्ठ यतिबेला आफ्नो निर्वाचन क्षेत्रभर जनताको घरआँगनमा पुगेर मत माग्दै जनताको गुनासो सुन्नमा ब्यस्त रहेका छन् ।
उनले हालसम्म पनौति नगरपालिका, चौरीदेउराली गाउँपालिका, भुम्लु गाउँपालिका र नमोबुद्ध नगरपालिकाको अधिकांश वडामा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिसकेको बताएका छन्। श्रेष्ठको अनुसार अबको चरणमा खानीखोला गाउँपालिका, महाभारत गाउपालिका र रोशि गाउँपालिकाका विभिन्न टोल–टोलमा घरदैलो कार्यक्रम सञ्चालन गरिनेछ।
प्रतिनिधि सभाको निर्वाचनमा पहिलो पटक उम्मेदवारी दिएका उनलाई यतिबेला मतदाताहरूले स्वागत गर्दै विजयको शुभकामना व्यक्त गरेका छन्। लामो समयदेखि जनतामाझ सक्रिय रूपमा घुलमिल हुँदै सामाजिक सेवामा समर्पित रहँदै आएका कारण उनी मतदातामाझ बढी लोकप्रिय देखिएका छन्।
भेटघाट तथा घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले शुभकामनासँगै आफ्ना समस्या, सुझाव र अपेक्षा समेत राखिरहेका छन्। जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै अघि बढेका उनीप्रति मतदाताको सकारात्मक उत्साह देखिएको छ।
काभ्रे क्षेत्र नम्बर १ मा यसपटक स्वतन्त्र उम्मेदवारका रूपमा राजेश कुमार श्रेष्ठ मैदानमा उत्रिएसँगै चुनावी माहोल थप चासोपूर्ण बनेको छ। स्थापित दलहरूप्रति देखिएको असन्तुष्टि र वैकल्पिक नेतृत्वको खोजीबीच उनको उम्मेदवारीलाई मतदाताले कस्तो रूपमा ग्रहण गर्नेछन् भन्ने प्रश्न अहिले चर्चाको विषय बनेको छ।
स्वतन्त्र रूपमा प्रतिस्पर्धामा उत्रिनु स्वयंमा चुनौतीपूर्ण मानिए पनि, स्थानीय मुद्दालाई केन्द्रमा राख्दै अघि बढ्ने प्रतिबद्धताले उनको उपस्थितिलाई अर्थपूर्ण बनाएको विश्लेषण गरिन्छ। अब मतदाताको निर्णयले नै यस प्रतिस्पर्धालाई कुन दिशातर्फ लैजान्छ भन्ने स्पष्ट हुनेछ।





















