सन्दीप लामिछानेलाई ग्रेड ‘ए’ मा सम्झौतामा अनुबन्ध गर्ने क्यानको निर्णय !

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई ग्रेड ‘ए’ मा सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपलाई यही जुलाई १ देखि आउँदो डिसेम्बर ३१ सम्म ग्रेड ‘ए’ मा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको क्यानले जनाएको छ ।

यस्तै बैठकले क्यान उपाध्यक्षसहित ४ जना पदाधिकारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । टी–२० विश्वकपमा सहभागिताका क्रममा क्रिकेट सङ्घ र पदाधिकारी लक्षित नकारात्मक टिप्पणी गरेको भन्दै क्यानले उपाध्यक्ष रोशनकुमार सिंह, केन्द्रीय सदस्यद्वय माधवकुमार आचार्य र दुर्गाराज पाठक तथा सुनसरी क्रिकेट सङ्घ अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यस्तै बैठकले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी सदस्य अप्सरी बेगमले टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै तत्कालका लागि निलम्बन गर्ने र थप छानबिन गरी निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिएको छ ।

यस्तै बैठकले ‘म्याच फिक्सिङ’ मा अदालतबाट सफाइ पाएका निलम्बित राष्ट्रिय खेलाडी आदिल आलमको निलम्बन फुकुवा प्रक्रिया सम्बन्धमा अनुशासन समितिलाई एक हप्ताभित्र निर्णय गर्न पनि जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...