यू-१९ विश्वकप : अफगानिस्तानलाई रोक्दै नेपाल यू-१९ विश्वकपको सुपर ६ मा !

काठमाडौं  – नेपाल आइसिसी यू-१९ विश्वकप २०२४ को सुपर-६ मा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूह ‘डी’ मा तेस्रो बन्दै सुपर-६ मा पुगेको हो ।

अब सुपर-६ मा नेपालले समूह ‘ए’ का भारत, बंगालदेश र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । अफागनिस्तानसँग कठिन जित निकाल्ने क्रममा नेपालले १४६ रनको लक्ष्य ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गर्‍यो ।

नेपालको जितमा कप्तान देव खनालले अर्धशतक प्रहार गरे। सातौं विकेटको रुपमा आउट हुनुअघि उनले ८९ बलमा ७ चौका प्रहार गर्दै ५८ रन जोडे ।

त्यसअघि ओपनरद्वय अर्जुन कुमाल १० रन, विपिन रावल ३ रन र गुल्सन झा १ रनमा आउट हुँदा नेपालमाथि दबाब परेको थियो।तर कप्तान देव खनालले धैर्यपूर्वक ब्याटिङ गरे । देवलाई १६ रन बनाएका आकास त्रिपाठीले साथ दिँदा नेपालको स्कोर बढेको थियो ।

तर दीपक डुम्रे ५ रन र दिपेश कँडेल ४ रनमा आउट भए । दीपक बोहरा नेपाललाई ६ रन चाहिएको बेला २७ रन जोडेर आउट भएका थिए।यस्तै ४४ ओभरको अन्तिम बलमा आकास चन्द पनि १ रनमा आउट हुँदा नेपालले नवौं विकेटको थियो ।

त्यतिबेला नेपाललाई जितका लागि दुई रन चाहिएको थियो । सुवास भण्डारीले नटआउट ९ रन जोडेपछि नेपालले कठिन जित दर्ता गरायो।

त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अल आउट भएको थियो ।

अफगानिस्तानका स्पिन अलराउन्डर मोहम्मद अल्लाह घजान्फरले २१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाएका थिए । एक समय अफगानिस्तान २०.३ ओभरमा ८८-८ को अवस्थामा पुगेको थियो ।

नवौं विकेटका लागि फरिदुन डावुड्जाई र कप्तान नासिर खानले ५५ रनको साझेदारी गरेका थिए । नासिर खान ८३ बलमा ३ चौकासहित ३१ रनमा दीपेश कँडेलको बलमा कट एन्ड बोल्ड आउट भए । फरिदुनले ६५ बलमा ४ चौकासहित २९ रनमा आउट भए ।

नेपाललाई तीव्र गतिका बलर गुल्शन झाले पहिलो ओभरको चौथो बलमा ओपनर नौमान साहलाई शून्यमा दीपक डुम्रेबाट क्याच आउट आउट गराउँदै पहिलो सफलता दिलाएका थिए ।

त्यसपछि अर्का तीव्र गतिका बलर आकाश चन्दले पाँच विकेट लिदै नेपाललाई खेलमा हाबी गराएका थिए । आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए । जाश्मिद जद्रानलाई ३ रनमा बोल्ड आउट गरे ।

त्यसपछि सोहिल खानलाई ४ र अली अहमदलाई शून्यमा आउट गर्दै ३४–५ को दयनीय अवस्थामा र्पुयाएका थिए । आकाशले २० रन बनाएका हसन इशाखिललाई दीपेशबाट क्याच गराए । उनले ३५ बलमा ४ चौका हानेका थिए ।

नेपालका आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए । दीपेश कँडेलले ८ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । गुल्शन झाले ८ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर १ विकेट लिए ।

सुवास भण्डारीले ८.१ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । तिलक भण्डारीले ८ ओभरमा १ मेडनसहित २८ रन खर्चेर १ विकेट लिए ।

समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ए बाट आउने शीर्ष तीन टोलीसँगै नेपाल, न्युजिल्यान्ड र पाकिस्तान एउटा सुपर सिक्समा हुनेछन् । नेपालले सुपर सिक्समा समूह एको शीर्ष र दोस्रो टोलीसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...