काठमाडौँ – दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करणमा आइतबार नेपालले बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डको सामना गर्दैछ । खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ ।
यू–१९ विश्वकपमा आठौँ पटक सहभागिता जनाइरहेको नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपाल र न्युजिल्यान्डका अतिरिक्त पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् । जारी प्रतियोगितामा नेपालले पहिलो खेल खेल्न लागेको हो ।
सन् २००० मा श्रीलङ्कामा सम्पन्न तेस्रो संस्करणदेखि यू–१९ विश्वकपमा नेपालका लागि न्युजिल्यान्ड पुरानो प्रतिद्वन्द्वी हो । यू–१९ विश्वकपमा यसअघि नेपालले न्युजिल्यान्डलाई दुईपटक पराजित गरिसकेको छ । सन् २००६ को यू–१९ विश्वकप श्रीलङ्कामा आयोजना भएको थियो । त्यो यू–१९ विश्वकप नेपालका लागि ऐतिहासिक थियो ।
त्यही विश्वकपमा पहिलो पटक नेपालले प्लेट च्याम्पियनसिपको उपाधि चुमेको थियो । यू–१९ विश्वकपमा नेपालले हासिल गरेको यो हालसम्मकै सबैभन्दा ठुलो उपलब्धि हो । प्लेट च्याम्पियनसिपको फाइनलमा नेपालले बलियो टेस्ट राष्ट्र न्युजिल्यान्डलाई एक विकेटले पराजित गरेको थियो । त्यसअघि सेमिफाइनलमा नेपालले दक्षिण अफ्रिकालाई दुई रनले हराएको थियो ।
त्यो विश्वकपमा नेपाली टोलीको नेतृत्व कनिष्क चौलागाइँले गरेका थिए । टोलीमा महेश क्षेत्री, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, पारस खड्का, यशवन्त सुवेदी, प्रेम चौधरी, वसन्त रेग्मी, शशि केशरी, रतन रौनियार, राज श्रेष्ठ, अमृत भट्टराईलगायतका खेलाडी थिए । न्युजिल्यान्डको टोलीमा भने मार्टिन गप्टिल, मार्क एलिसन, टिम साउथी, कोलिन मुनरो, हामिस बेनेटलगायतका खेलाडी थिए ।
यसैगरी सन् २०१६ को यू–१९ विश्वकप बंगलादेशमा आयोजना भएको थियो । त्यो विश्वकपमा नेपालले समूहगत चरणमा तीनमध्ये दुई खेलमा जित हासिल गरेको थियो । त्यो विश्वकपमा पनि समूह ‘डी’ मा परेको नेपालले आफ्नो पहिलो खेलमा बलियो न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो । अर्को खेलमा नेपालले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो ।
त्यो समूहबाट भारत पहिलो र नेपाल दोस्रो हुँदै अघिल्लो चरणमा पुगेका थिए । न्युजिल्यान्ड र आयरल्यान्ड भने समूहगत चरणबाटै बाहिरिएका थिए । त्यो विश्वकपमा नेपालले राजु रिजालको कप्तानीमा सहभागिता जनाएको थियो । आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेललगायतका खेलाडीले पनि त्यो विश्वकप खेलेका थिए ।
सन् २०१६ को संस्करणपछि भने नेपालले पहिलो पटक यू–१९ विश्वकप खेल्न लागेको हो । यू–१९ विश्वकपमा यसपटक पनि फेरि नेपाल र न्युजिल्यान्ड समूह ‘डी’ मै परेको छ । आइतबार खेलिने खेल नेपालका लागि महत्त्वपूर्ण छ । आइतबारको खेलमा सफलता हात पारेमा यू–१९ विश्वकपमा नेपालले न्युजिल्यान्डमाथि ह्याट्रिक जित हासिल गर्नेछ ।