अब नेपालको नयाँ दिन सुरु हुनेमा प्रशिक्षक देसाई ढुक्क, नयाँ ढोका खुल्ने दावी !

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले आफूहरु एसिया कपको दोस्रो खेलका लागि केन्द्रित रहेको बताएका छन् ।

एसिया कपको पहिलो खेलमा पाकिस्तानसंग पराजित भएपछि पत्रकारहरुसंग कुराकानी गर्नेक्रममा देसाईले आफूहरु भारत विरुद्धको खेलका लागि केन्द्रित रहेको बताएका हुन्।

पत्रकार सम्मेलनका क्रममा देसाईले पाकिस्तान विरुद्धको खेल नेपालका लागि सुरुवात मात्र रहेको र अझै धेरै प्रतियोगिता खेल्ने टिमको चाहना रहेको जानकारी दिए। पाकिस्तानको खेलबाट के के सिकियो भन्ने कुरा मनन गर्न बाँकी रहेको उनले सुनाए।

“हामीले के सिक्यौँ भन्ने कुरा मनन गर्न बाँकी नै छ । सिकाइको साथसाथै हामीले के–के राम्रो गर्‍यौँ भनेर पनि देखाउन बाँकी छ । हाम्रा बलरले सुरुआत राम्रो गरे । पाकिस्तानसँगको खेलमा फिल्डिङ केही निराशजनक रह्यो। यो स्टेजमा आएर क्रिकेटरको सपना हुन्छ, जुन आज सुरु भएको छ । यो हाम्रो सुरुआत हो, किनकि हामी यो स्तरमा अझै धेरैपटक खेल्न चाहन्छौँ ।”,देसाईले भने।

पाकिस्तान विरुद्धको खेलबाट सिकेको पाठ नेपालले अन्य खेलमा लागू गर्नेमा उनी आशावादी देखिए। आगामी खेलमा अझ सुधारिएको प्रदर्शन नेपाली राष्ट्रिय टोलीले गर्छ भन्ने विश्वास उनले व्यक्त गरे। साथै उनले पछिल्लो अनुभवले अबका दिनमा भारत र पाकिस्तानको ‘ए’ टिमसँग खेल्ने ढोका खोल्ने सम्भावना रहेको पनि बताए।

उनले भने,”अनुभवी खेलाडीबाट सिकेको कुरा आगामी खेलमा प्रयोग गरे मात्र खेलाडीले आफूमा इम्प्रुभ ल्याउन सक्छ । हामी यहाँ ग्रोथका लागि आएका हौँ । यो मञ्चमा नेपाली क्रिकेटरले देखाउने कौशलले भारत ‘ए’, पाकिस्तान ‘ए’सँग खेल्ने अवसर मिल्नेछ, जुन नेपाली क्रिकेटको विकासमा अर्को प्लेटफर्म बन्नेछ भन्ने आशा लिएको छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...