काठमाडौँ – विश्वकप छनोट खेल्न जिम्बावे पुगेको नेपाली क्रिकेट टोली निकै युवा छ । कप्तान रोहित पौडेल नै २० वर्षका मात्र भए । तर, यूएईसँग आइतबार सातौं स्थानको प्लेअफ सेमिफाइनल खेल्दा नेपालले आफूलाई परिपक्व महसुस गर्नेछ । युवा भए पनि नेपाली टोलीमा निरन्तर खेल्दै आएका खेलाडी छन् ।
यूएईको टोली निकै नयाँ छ । ब्याटर इथन कार्ल डिसुजा भर्खर १७ वर्षका भए । अलराउन्डर आयान खान पनि १७ वर्षकै हुन् । विकेटकिपर आर्यांश शर्मा १८ वर्षका मात्र छन् । अर्का ब्याटर अली नासिर १९ र वृत्या अरविन्द र सञ्चित शर्मा २१ वर्षका भए । आयान र वृत्या टोलीमा स्थान बलियो बनाइसकेका भए पनि अन्य खेलाडीसँग अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव निकै कम छ ।
जिम्बावे आउनुअघि वेस्ट इन्डिजसँग खेलिएको तीन खेल शृंखलाबाट डिसुजाले एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए । उनको दोस्रो खेल विश्वकप छनोटमा आयरल्यान्डविरुद्ध थियो । नासिर र २४ वर्षे ब्याटर मोहम्मद जबदुल्लाहले पनि वेस्ट इन्डिजसँगको शृंखलाबाटै एकदिवसीयमा पाइला टेकेका थिए । अर्यांश र सञ्चितले मार्चमा नामिबियामा भएको विश्वकप छनोट प्लेअफबाट ‘डेब्यु’ गरेका थिए ।
समूह ‘ए’ मा रहेको नेपाल ४ मध्ये १ खेलमात्र जित्न सकेपछि सुपर सिक्सको दौडबाट बाहिरिएको थियो । समूह ‘बी’ मा यूएई सबै चार खेलमा पराजित भयो । नेपाल आफ्नो समूहको चौथो र यूएई आफ्नो समूहको पाँचौं भएपछि प्लेअफमा आमनेसामने हुन लागेका हुन् । यो खेल जित्ने टोलीले सातौं स्थानको प्लेअफमा आयरल्यान्डसँग खेल्नेछ भने पराजित हुने टोलीले अमेरिकासँग नवौं स्थानका लागि खेल्नुपर्नेछ ।
पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित नेपालले अर्को खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपाल त्यसपछि वेस्ट इन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो । यूएई क्रमशः श्रीलंकासँग १ सय ७५ रन, ओमानसँग ५ विकेट, स्कटल्यान्डसँग १ सय ११ रन र आयरल्यान्डसँग १ सय ३८ रनले पराजित भएको थियो ।
जिम्बावेसँगको पहिलो खेलमा घाइते भएका अलराउन्डर सोमपाल कामीको स्थानमा नेपालले किशोर महतोलाई राखेको छ । किशोर १६ सदस्यीय नेपाली टोलीमा रहे पनि अन्तिम टोलीमा थिएनन् । किशोरसँग एकदिवसीय अन्तर्राष्ट्रियमा एक खेलमात्र खेलेको अनुभव छ ।
नेपालले विश्वकप लिग २ का १२ मध्ये ११ खेल जित्दै विश्वकपमा स्थान सुरक्षित गरेको थियो । त्यो एउटै हार यूएईसँग दुबईमा भएको थियो । नेपालको ९९ रनको हार त्यो समयमा रनअन्तरमा सबैभन्दा ठूलो थियो । यसै प्रतियोगितामा नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएको हो ।
एसोसिएट राष्ट्रविरुद्धको पछिल्ला २० खेलमा नेपालले दुईमा मात्र पराजय भोगेको छ । एसोसिएट राष्ट्रसँगको एक अर्को पराजय यसै प्रतियोगितामा नेदरल्यान्ड्ससँग थियो, जसले नेपाललाई सुपर लिगमा पुग्न वञ्चित गराएको हो ।
मोबाइल एपमा कसरी हेर्ने लाइभ ?
यसका लागि सुरुमा तपाईंले नेटटिभी एप डाउनलोड गर्नुपर्ने हुन्छ । आईओएसका लागि यहाँ र एन्ड्रोइडका लागि यहाँ क्लिक गरेर नेटटिभीको एप डाउनलोड गर्न सकिन्छ ।
साथै तपाईंले यहाँ क्लिक गरेर नेटटिभीको वेब भर्सनमा जान सक्नुहुन्छ । – एप इन्स्टल गरिसकेपछि सबैभन्दा पहिले फेसबुक, गुगल वा एनसेलको नम्बर राखेर साइनअप गर्नुहोस् ।
























