कारण केसीले भारतीय तीव्र गतिका बलर बुमराहलाई समेत पछि पारे !

काठमाडौं – भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराह भन्दा नेपालका करण केसीले ओडिआई क्रिकेट इतिहासमा पावर प्लेमा उत्कृष्ट सुरुवात गरेका छन् । करणले आइसिसी विश्वकप छनोटमा मंगलबार अमेरिकाविरुद्ध सानदार बलिङ गर्नेक्रममा बुमराहको कीर्तिमानलाई पछि पारेका हुन् ।

करणले पावर प्लेमा ५ ओभर बलिङ गर्दै २ मेडनका साथ ७ रन खर्चेर ४ विकेट लिएका थिए । उक्त प्रदर्शन ओडिआई इतिहासमा बुमराहको भन्दा उत्कृष्ट सुरुवात हो ।

बुमराहले २०२२ मा इंग्ल्यान्डविरुद्ध पहिलो ओडिआईको पावर प्लेमा ५ ओभरमा २ मेडनसहित ९ रन खर्चेर ४ विकेट लिएका थिए । करणको प्रदर्शन ओडिआईकै पावर प्लेमा दोस्रो उत्कृष्ट प्रदर्शन हो ।

ओडिआईमा सुरुवाती १० ओभरमा उत्कृष्ट प्रदर्शन गर्ने कीर्तिमान अमेरिकाका तीव्र गतिका बलर अली खानको नाममा छ । अली खानले आइसिसी प्लेअफ क्वालिफायरमा दुई महिनाअघि जर्सीविरुद्ध ४ ओभरमा १२ रन खर्चेर ५ विकेट लिएका थिए ।

जर्सीविरुद्ध खेलाडीसँग झगडा गरेपछि अली खानले कारबाही स्वरुप एक डीमेरिट प्वाइन्ट पाएका थिए । त्यसैको कारण २४ महिनाभीत्र ४ डीमेरिट प्वाइन्टको भएपछि उनलाई दुई खेलमा प्रतिबन्ध लागेको थियो । वेस्टइन्डिज र नेपालसँगको खेल गुमाउन पुगेका थिए ।

करणको उत्कृष्ट बलिङको सहयोगमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । अमेरिकाले दिएको २ सय ७ रनको लक्ष्य नेपालले ४३ ओभरमै ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।

करणले ८ ओभरमा ३ मेडनसहित १५ रन खर्चेर ४ विकेट लिएका थिए । तर आफ्नो नवौं ओभरमा भने उनले दुई छक्का र एक चौकासहित कुल १८ रन खर्चिन पुगेका थिए । जुन उनले सुरुवाती ८ ओभरमा खर्चेको कुल रन भन्दा पनि अझ बढी थियो । कारण ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर ४ विकेट लिँदै खेलको प्लेयर अफ द म्याच चुनिए ।

नियमित तीव्र गतिका बलर सोमपाल कामी बायाँ हातको बुढी औलामा चोटका कारण खेलेका थिएनन् । करणले सिनियर खेलाडीको जिम्मेवारी लिँदै उत्कृष्ट प्रदर्शन गर्दा सोमपालको याद महसुस हुन दिएनन् । नेपालले तेस्रो खेल बिहीबार वेस्टइन्डिजसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...