काठमाडौं – ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिंदै सेन्सर सिफारिस गर्ने चलचित्र विकास बोर्डको निर्णय थप विवादित बनेको छ ।
यो निर्णयबारे छलफल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई बिहीबार बिहान ११ बजे मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव सेवन्तक पोखरेलले नेपाली फिल्मलाई विदेशी फिल्म भन्दै सेन्सर सिफारिस गरिएकोबारे छलफलका लागि केसीलाई मन्त्रालयमा बोलाइएको बताए ।
बोर्डको निर्णयलाई चुनौती दिंदै ‘प्रेमगीत ३’का वितरकले बिहीबार मन्त्रालयमा निवेदन दिएपछि यो विवादमा मन्त्रालयले हात हालेको हो । ‘वितरकको निवेदनको आधारमा स्पष्ट हुन हामीले उहाँलाई बोलाएका हौं,’ पोखरेलले भने, ‘पहिले नेपाली भनेर सेन्सर गर्ने र अहिले आएर हिन्दी भन्ने कुरा बाझिएकाले हामी स्पष्ट हुन चाहेका हौं ।’
यो पनि : गायक राजेशपायल राई पछिल्लो समय टीभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा व्यस्त छन् । टीभीको पर्दामा पनि उनी बेलाबेलामा आफ्ना विचार राखिरहेका हुन्छन् ।
यतिबेला नेपाली मनोरञ्जन जगतमा हटकेक बनेको ‘प्रेमगीत ३’ विवादले पनि ‘राई इज किङ’लाई नछुने कुरै भएन । राजनीति, समाज र अन्य मामिलामा पनि चासो राखिरहने यी गायकले ‘प्रेमगीत ३’ विवादमा मुख खोलेका छन् ।
सेन्सर बोर्डका सदस्य सचिव टंक महतले पनि भुवन केसीलाई मन्त्रालयमा बोलाइएको पुष्टि गरे । ‘सचिवज्यूले स्पष्ट हुन बोलाउनुभएको हो,’ महतले अनलाइनखबरसँग भने, ‘सेन्सर गर्ने मन्त्रालयले हो, बोर्डले होइन । हामी यसबारे थप निर्णय गर्छौं ।’
चलचित्र विकास बोर्डले बुधबार दिउँसो ‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिंदै सेन्सर सिफारिस दिएको थियो ।
























