काभ्रे – रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७२ करोड ४ लाख ३७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाले ६० बर्ष माथिका एकल पुरुषलाई ‘सामाजिक संरक्षण कार्यक्रम’मा आवद्ध गराएर मासिक भत्ता दिन प्रस्ताव गरेको छ । यसअघि महिलालाई मात्र दिइँदै आएको भत्ता आगामी आर्थिक वर्षबाट एकल पुरुषलाई पनि दिने घोषणा गरिएको हो ।
आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन प्रस्ताव गरेको हो ।
‘गाउँपालिकाको आन्तरिक श्रोतबाट मासिक १ हजार रुपैयाँ दिने प्रस्ताव गरेका हौं,’ गाउँपालिका अध्यक्ष दिने लामाले भने, ‘श्रीमती मृत्यु भएका, पारपाचुके भएका र विवाह नगरेका ६० बर्ष माथिका पुरुषको तथ्याकं लिएर मासिक भत्ता उपलव्ध गराउछौं ।’ ७० बर्ष माथि जेष्ठ नागरिक र ६० बर्ष माथिका दलित समुदायका नागरिकलाई संघीय सरकारले सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउँछ । गाउँपालिकाले यसअघि ६० वर्षमाथिका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्दै आएको छ ।
गाउँसभाको १७ औँ अधिवेशनको मंगलबार सम्पन्न बैठकमा पालिकाका अध्यक्ष दिनेश लामाले नीति तथा कार्यक्रम र उपाध्यक्ष मिमबहादुर वाईबाले बजेट, विनियोजन विधेयक तथा आर्थिक विधेयक प्रस्तुत गरेका थिए ।
स्थानीय उत्पादनको प्रवर्द्धन सुशासन तथा संस्थागत विकास अन्तर्गत सरकारी कार्यालयहरूमा आयातित कोल्ड ड्रिंक्स (पेयपदार्थ)लाई निरुत्साहित गरिने नीति ल्याइएको छ । त्यसको सट्टा दूध, दही, महीलगायतका स्थानीय पेय पदार्थको प्रयोगलाई प्रोत्साहन गरिनेछ ।
बैठकमा उपाध्यक्ष वाईबाले बजेटसँगै विभिन्न विधेयकहरू पनि प्रस्तुत गरे। उनले विनियोजन विधेयक २०८२, आर्थिक विधेयक २०८२, स्थानीय उद्योग दर्ता, सञ्चालन, व्यवस्थापन र नियमनसम्बन्धी विधेयक, जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण तथा उपयोगसम्बन्धी विधेयक पेस गरे ।
























