नमोबुद्ध नगरपालिकाले गर्‍यो ८० करोड ७३ लाखको बजेट प्रस्तुत !

काभ्रे – नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्षको लागि ८० करोड ७३ लाख २३ हजार १ सय ६० को अनुमानित बजेट पेश गरेको छ ।

नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा भएको दोस्रो नगर सभाको सातौं अधिवेशनको पहिलो बैठकमा उपप्रमुख रत्न लामाले आगामी आर्थिक बर्ष २०८२/८३ को लागि आय र व्ययको अनुमान प्रस्तुत गरेका हुन् । चालुतर्फ १८ करोड ३२ लाख २६ हजार ५ सय ३१ रुपैयाँ र पुँजीगततर्फ ६२ करोड ४१ लाख ३६ हजार ६ सय २९ रुपैयाँँको बजेट प्रस्ताव गरिएको छ ।

बैठकमा नगर प्रमुख कुनसाङ आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगरपालिकाले वित्तीय सन्तुलन कायम गर्दै विभिन्न शीर्षकहरूमा रकम विनियोजन गरेको छ ।

विपद् पश्चात क्षति भएका खानेपानीका भोतिक पुर्वाधारको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने कार्यक्रममा उल्लेख छ । स्थानीय पाठ्यक्रम निर्माण, शैक्षिक पात्रो प्रकाशन, युवा सशक्तिकरण र उद्यमशिलता प्रवर्धनका कार्यक्रमलाई निरन्तरता दिने नगर प्रमुख लामाले बताए । नमोबुद्ध नगरको गौरवको रुपमा रहेको नमोबुद्ध मन्दिर परिसरलाई विश्व सम्पदा सुचीमा सूचीकृत गर्न आवश्यक पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महिला स्वयंसेविका निवृत हुँदा नगरपालिकाबाट खाली हात नजानी नीति अनुसार प्रत्येक महिला स्वयंसेविका लागि २० हजार निवृत खर्चको व्यवस्था मिलाइएको नीति तथा कार्यक्रममा उल्लेख छ । मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराई रहेका, क्यान्सर रोगी, मेरुदण्ड पक्षघातका विरामीहरुका लागि औषधि उपचार खर्च वापत मासिक ५ हजारका दरले ४६ लाख ४० हजार बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाले विभिन्न शीर्षकका अनुदान र राजस्व संकलनबाट आयको अपेक्षा गरेको छ । यसमा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, प्रदेश सरकारका अनुदान, स्थानीय कर, तथा अन्य विविध आयको स्रोतहरू समावेश छन् । नगरपालिकाले यसपटक बजेटमा आम्दानीको सन्तुलन मात्र कायम गरेको छैन, नगरवासीको प्रत्यक्ष जीवनस्तर सुधारका लागि दीर्घकालीन योजना पनि अघि सारेको छ । प्रमुख योजनाहरूमा सडक निर्माण, खानेपानी आपूर्ति, स्वास्थ्य सेवा विस्तार, तथा शिक्षा सुधार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...