एमालेमा युवा हस्ती : देशकै कान्छी पालिका प्रमुख बन्दै सिर्जना लामा !

काठमाडौँ – नेकपा (एमाले) युवा पुस्तालाई विशेष स्थान दिने पार्टीका रुपमा स्थापित रहेको छ । पार्टीका कमिटीहरुदेखि उम्मेदवारको स्तरसम्म पनि एमालेमा युवाको राम्रै स्थान रहेको छ ।

यसै क्रममा आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा देशभरबाट एमालेले आफ्ना उम्मेदवारहरुको टुंगो लगाउने क्रममा रसुवा जिल्लाका पाँचवटै स्थानीय तहमा उम्मेदवार निश्चित भएका छन् ।

अवसर पाए युवाले नै नेतृत्व गरेर परिवर्तनका संवाहक बन्नसक्छन् भन्ने उदाहरण बनेकी छिन् रसुवाको नौकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामा ।

तत्कालीन सरमथली गाविस वडा नं. ५ मा बुवा लवाङ नुर्पु लामा र आमा बुधमाया लामाको कोखबाट २०५२ मंसिर ४ गते जन्मिएकी लामा २१ वर्ष ५ महिना २८ दिन मै नौकुण्ड गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएसँगै सबै चकित परेका थिए ।

२०७४ को स्थानीय तहको निर्वाचनमा विजय हासिल गरेसँगै उनी देशकै कम उमेरकी उपाध्यक्ष बन्न सफल भएकी थिइन् ।

एमालेका ५ जना महिलाहरुमध्येबाट उम्मेदवार बन्न सफल सिर्जनाले काँग्रेस, माओवादी र नँया शक्तिकी संयुक्त उम्मेदवारलाई पराजित गरेकी थिइन् ।

आगामी स्थानीय तहको निर्वाचनमा एमालेबाट उनी गाउँपलिका अध्यक्षको उम्मेदवार सिफारिस भएकी छन् । उनले निर्वाचन जिते सबैभन्दा कम उमेरकी गाउँपालिका अध्यक्ष बन्नेछिन् ।

युवा माझ निकै लोकप्रिय बनेकी सिर्जना उनीहरुको प्रेरणा समेत बनेकी छन् । नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनका लागि हाल उनै लामा एमालेबाट नौकुण्ड गाउँपालिकाको अध्यक्षको उम्मेदवार सिफारिस भएकी छन् ।

परिवारका सात सदस्यमध्ये दोस्रो सन्तनाका रुपमा रहेकी सिर्जनाको परिवारमा जेठी दीदी, कान्छी बैनी र दुई भाइहरु छन । दीदी, बहिनी र भाइहरुसँग रमाउंदै स्कूल जाने सिर्जनाले तीन विद्यालय फेर्दै आफ्नो स्कुले पढाई सकिन् । नमूना प्राविमा १ देखि ३ सम्म पढेकी सिर्जनाले दुप्चेश्वरी आधारभूत विद्यालयमा ४ र ५ उतिर्ण गरिन् भने निर्कु भूमे माविबाट प्लस टू पुरा गरिन् ।

२०५४ सालमा एमालेबाट वडा अध्यक्षमा निर्वाचित बुवा लवाङ नुर्पु लामालाई माओवादीले जनयुद्धकालमा गाउँमा बस्न नदिएपछि उनी आमा र दिदीको साहारामा गाउँमै हुर्किएकी थिईन् ।

एसएलसीपछि उनको दिदीको विवाह भएसँगै घरायशी जिम्मेवारी बहन गर्दै अघि बढेकी सिर्जनाको राजनीतिमा पनि सानैदेखिको संघर्ष रहेको छ ।

विद्यालयमा अध्ययनकै क्रममा माओवादीबाट पटकौं भागेर जोगिएकी सिर्जना ८ कक्षा देखि एमाले निकट अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य भएर काम गरेकी थिईन् । उनी तीन वर्ष अनेरास्ववियु क्रियाशील रहिन् । उनी शिक्षिकाको जागिर गर्न थालेपछि भने राजनीतिमा सक्रिय हुन नसके पनि छोटो समयमा पनि अनेरास्ववियुको जिल्ला र केन्द्रीय अधिवेशनमा प्रतिनिधिको रुपमा छानिएर उनले राजनीतिका पाइला अघि बढिरहे ।

आफ्नो अध्यापनपछि स्थानीय संस्था मानेकोर सोसाइटी नेपालको शैक्षिक परियोजनामा रहेर विभिन्न गाविसमा कार्यक्रम संचालन गरेपछि सिर्जनाको स्थानीय क्षेत्रमा थप परिचय बढायो ।

आफू निर्वाचित नभएको भए पनि विभिन्न परियोजनाहरुमा काम गरेर अर्थोपार्जन गर्ने योजना थियो । यद्यपि चुनाव जितेसँगै उनको जीवनको नयाँ पाटोको यात्रा सुरु भयो ।

उम्मेदवार बन्न कतिपय आफ्नैले समेत नदिन खोजेको सिर्जनाको अनुभव छ । तर पनि आफू २१ वर्ष पुगेको र आधिकारिक उमेर पनि त्यही रहेको आफ्नो अडानका कारण उनलाई पार्टीले पनि पत्यायो ।

उम्मेदवार बन्न विभिन्न व्यक्तित्वहरुसँग आफूले छलफल गरे पनि विशेषगरी बुबाबाट सल्लाह लिएको उनी सुनाउँछिन् ।

पार्टीमा अन्य प्रतिस्पर्धी भन्दा आफ्नो शैक्षिक योग्यता, सामाजिक क्रियाशीलताले आफू छानिएको उनको विश्वास छ ।

२०७४ को निर्वाचन निकै चुनौतीपर्ण रहेको अनुभव उनीसँग छ । तर पनि आफ्नो आत्मविश्वास भने बलियो भएकै कारण निर्वाचन जितेको उनी बताउँछिन् ।

उनले गठबन्धनका उम्मेदवारसँग ८३ मतको अन्तरले मैले जितेकी थिइन् । पार्टी र जनताले पत्याएपछि जिम्मेवार बन्नुपर्ने भन्ने उनको स्पष्टता छ ।

पहिलैदेखि सामाजिका काममा सक्रिय भएका कारण अहिले पनि आफूलाई गाह्रो नभएको उनको अनुभव छ ।

बितेका ५ वर्षमा आफ्नो खास जिम्मेवारी अनुगमन र न्याय सम्पादन भएकोले ति जिम्मेवारी पूरा गरेको उनी भन्छिन् । कृषि, शिक्षा, स्वास्थ्य, मोटरबाटो, विजुली विस्तारमा केन्द्रित रहेर विकासका कामहरु गरिरहेको उनले बताइन् ।

विकास योजनाहरुको अनुगमन र मूल्यांकन मैले नै गर्ने भएकोले छलकपटको कुनै गुन्जायस नभएको उनको तर्क छ ।

त्यस्तै, योजनामा महिला र बालबालिकालाई विशेष ध्यान दिएकी छन् । महिला बजेटलाई पनि प्राथामिकतामा राख्न उनको सक्रियता छ ।

भावी योजनाका बारेमा उनी जनतालाई निराश नबनाउन र आफ्ना आमाबुबालाई छोरी प्रति गर्व गर्न लायक काम गर्न प्रतिवद्ध छिन् ।

राजनीतिक यात्रालाई निरन्तरता दिंदै जनताको आर्थिक समृद्धीको अभियानमा क्रियाशील रह उनको इच्छा छ । आफ्नो सफलतामा परिवार, पार्टी र जनताको भरोसा जोडिएको र ति सबैलाई गर्व गर्ने काम गर्ने उनको अठोट छ ।

युवाकी ढुकढुकी रसुवाकी छोरी २७ बर्षीय सिर्जनालाई आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट नौकुण्ड गाउँपालिका प्रमुखको रुपमा सर्वसम्मत उम्मेद्वार भएकी छन् ।

उनले विगतमा आफूले राम्रो काम गरेकै कारण पनि हुन लागेको चुनाव जित्ने विश्वास व्यक्त गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...