काठमाडौँ –
चलचित्र क्षेत्रका चर्चित अनुहारहरु धमाधम राजनीतिमा लाग्ने क्रम चल्न थालेको छ । कतिपयले पार्टी परिवर्तन र प्रवेश नै गर्न थालेका छन् ।
करिश्मा मानन्धरले नयाँ शक्तिबाट राजनीति सुरु गरेपनि उक्त पार्टी त्यागेर बसेकी थिइन् । यसै हप्ता नेकपा एमालेमा प्रवेश गरेकी छिन् । कोमल ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति सुरु गरेपनि पछि एमाले प्रवेश गरिन् ।
रेखा थापा नेकपा माओवादी केन्द्र हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरिन् । पुराना कलाकार शिव श्रेष्ठ राजसंस्थाको पक्षमा खुलेका छन् ।
रवीन्द्र खड्का राजसंस्थाको पक्षमै निरन्तर देखिन्छन् ।अभिनेता भुवन केसी कुनैबेला राजावादीसँग नजिक थिए । पछिल्लो समय उनी नेकपा एमालेमा छन् ।
तर, केसीलाई एमालेबाट अलग बनाउन एउटा समूह नै लगेको छ । भुवन केसीलाई राप्रपामा भित्राउने तयारी भइरहेको छ । विश्वस्त स्रोतका अनुसार
राप्रपाका केही नेताहरुले भुवन केसीलाई पार्टीमा ल्याउन खोजेका छन् । उनीहरुले केसीलाई काठमाडौंमा महत्वपूर्ण पदमा उम्मेदवार बनाउने गरी तान्न खोजेका हुन् ।
यो पनि : कोरोना महामारीपछि नेपाली बक्स अफिसमा विदेशी फिल्मको दबदबा बढेको छ । हप्तैपिच्छे बलिउड, हलिउड र दक्षिण भारतीय फिल्म रिलिज भइरहेका छन् ।
ठूलो लगानीमा निर्माण भएका विदेशी फिल्मसामु कम बजेटका नेपाली फिल्म जुध्नु पक्कै राम्रो होइन । विदेशी फिल्मको प्रभुत्वले नेपाली फिल्म निर्मातालाई चिन्तित बनाएको महसुस हुन थालेको छ ।
बिहीबार बेलुका ‘ए मेरो हजुर ४’को ट्रेलर रिलिज गर्न आयोजित पत्रकार सम्मेलनमा यस्तो चिन्ता पोखियो । निर्देशक तथा अभिनेत्री झरना थापा, निर्माता सुनिलकुमार थापा, भुवन केसीदेखि अनमोलसम्मले विदेशी फिल्मको दबदबा बढ्दा नेपाली फिल्मलाई चिन्ता थपेको बताए ।
उनीहरुको प्रमुख चिन्ता चाहिं ठूला विदेशी फिल्मसामु सानो बजेटका नेपाली फिल्म जुधेर हुने क्षतिप्रति सरकार गम्भीर नभएको भन्नेतर्फ हो । उनीहरुको यस्तो चिन्तामा एकैसाथ आक्रोश, निराशा र अन्योल देखिएको थियो ।
भुवनले नेपाली फिल्मलाई सरकारले मायालु नजरले नहेरेको बताए । ‘हामीलाई विदेशी फिल्मले नेपाली संस्कृति, पर्यटन र फिल्मलाई डोमिनेट गरेको महसुस भएको छ,’ भुवनले भने, ‘नेपाली फिल्मलाई हेर्ने सरकारी नीति नै मायालु छैन ।’
निर्माता सुनिलकुमार थापाले १०० करोडमा बनेका भारतीय फिल्मसँग तीन करोडमा बनेको नेपाली फिल्म जुध्नु विडम्बनापूर्ण भएको बताए । उनले यो कुरा बुझाउन नेपाल र भारतबीचको फुटबल खेलको सहारा लिए । ‘हलमा नेपाल र इण्डियाको फुटबल म्याच हुँदैछ,’ उनले भने, ‘उसले एक गोल हान्छ भने हामी दुई गोल फर्काउँछौं ।’ नेपाली संस्कृति र नेपालीको इज्जत बढाउने ढंगले फिल्म बनेको उनको तर्क थियो ।
निर्देशक झरना थापाले यस्तो समयमा नेपाली फिल्मका निर्माता एकजुट हुनुपर्ने बताइन् । ‘हामीले बनाएको फिल्मले मन छुन्छ भने सबै प्रमोट गरिदिनुपर्यो । नराम्रो छ भने नराम्रो भन्दिनुहोला । यतिबेला हामीबीच एकताको आवश्यकता छ,’ उनले भनिन् ।
अनमोलले पनि वैशाख १ गतेको बक्स अफिस भिडन्तलाई नेपाल र भारतबीचको फुटबल खेलसँग तुलना गर्दै नेपालको जित हुने बताए । अभिनेत्री सुहाना थापाले दर्शकको साथको अपेक्षा गरिन् ।























