काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी (जनवादी)बीच एकीकरण भएको छ ।
एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा (एस)सँग माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी)बीच मंगलबार एकीकरण भएको हो ।
तत्कालीन नेकपा माओवादीसँग असन्तुष्ट हुँदै महताले २०६२ सालमा नेकपा (जनवादी) गठन गरेका थिए ।
राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा दुवै दलका अध्यक्षले सम्बोधन गरिरहेका छन् । पार्टी एकीकरण घोषणा कार्यक्रममा दुवै दलका शीर्ष नेताहरुको उपस्थिती थियो ।
यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उद्यमी युवालाई सरकारले प्रोत्साहन दिनुपर्ने बताएका छन्।
काठमाडौंमा मंगलबार आयोजित पार्टी एकता घोषणा सभामा नेपालले उद्यमी युवालाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताएका हुन्।
कार्यक्रममा एकीकृत समाजवादीमा देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी) समाहित भएको थियो। कार्यक्रमलाई नेपाल र महतोले सम्बोधन गरेका थिए।
उनले सरकारले उद्यमशीलताको विकास र उत्पादनको क्षमता नबढाएको हुनाले मानिसहरूमा आत्मविश्वास बढ्न नसकेको तर्क गरे। नेपालले दलालपुँजीको
दबदबा बढिरहेकाले देशमा मिहिनेत नगरी पैसा कमाउने प्रवृत्ति, रातारात अर्बपति बन्ने चाहना र अरूलाई लुटेर कमाउने प्रवृत्ति हुर्किरहेको भन्दै त्यस्ता प्रवृत्तिलाई समाप्त पार्नुपर्ने बताए।
उनले शासन सञ्चालनको तरिकामा सुधार गर्नुपर्ने भन्दै केन्द्रीय सरकारले प्रादेशिक र प्रदेश सरकारले स्थानीय सरकारका काम कारबाहीमा
निगरानी राख्न आवश्यक रहेको औँल्याए। उनले पार्टीले पनि आफ्ना कार्यकर्ताले कसरी काम गरिहरेका छन् भनेर अनुगमन गर्नुपर्ने बताए।
नेपालले इमान्दारिता, निष्ठा र समर्पण नै एउटा नेताको लागि आवश्यक र उचित हुने भन्दै जनताको मन जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए। विज्ञसँग सुझाब
लिएर देशका प्राथमिकता र नीति बनाउनुपर्ने उनको भनाइ छ। नेपालले राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीलाई कसैले पनि बेवास्ता गर्न नसक्ने पनि बताए।























