काठमाडौं –
नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले पार्टी फुट्नुमा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल दुवै जिम्मेवार रहेको बताएका छन् ।
लामो बहस र छलफलपछि दुबै नेताको सहमतिका आधारमा १० बुँदे सहमति भए पनि कार्यान्वयनमा दुवै नेताले अनिच्छुक देखिँदा पार्टी फुटेको उनले बताए ।
नेकपा एमालेले मेल्लेखको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले १० बुँदे सहमतिको लागि दिनहुँ बालकोट र कोटेश्वर गएर निकै मेहनतका साथ सहमतिको खाका तयारी गरे पनि कार्यान्वयन नहुँदा पार्टी फुटेको रावलको आरोप छ ।
नेता रावलले १० औं महाधिवेशनको पूर्व सन्ध्यामा आफूले ओली र अन्य नेतालाई मिलेर जानको लागि आग्रह गर्दा सुनुवाइ नभएको बताए । पार्टी फुटको अवस्थामा पुग्न लाग्दा आफूले सहमतिमा अघि बढौं भनेर दुई घण्टाभन्दा बढी अध्यक्ष ओलीसँग छलफल गरेको उनको भनाई छ ।
आफूले भनेको कुरा पार्टी अध्यक्षले सुनुवाइ नगर्दा पार्टीको नीति, सिद्धान्त र विचारलाई आत्मसात गर्दै अध्यक्षको उम्मेदवार बनेको रावलले बताए ।
उनले आफूले अध्यक्ष पदमा प्रतिस्पर्धा गरेको र हार बेहोर्दा मन खुम्च्याउनु पर्ने कारण नरहेको बताएका छन् । चुनावमा अध्यक्ष ओलीले जिते पनि नैतिक रूपमा भने आफूले जितेको नेता रावलको भनाई छ ।
यो पनि : नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले आइतवार पार्टीका विभिन्न जिम्मेवारीमा भएका मनोनयनलाई लिएर तीव्र असन्तुष्टि प्रकट गरेका छन्।
चितवन महाधिवेशनमा अध्यक्षमा पदमा पराजित भएपछि केन्द्रीय सदस्यसहित कुनै पदमा बस्न अस्वीकार गरेका उनले आफ्ना गुटका मान्छेलाई ओलीले मनलाग्दी नियुक्ति गरेको पनि टिप्पणी गरेका छन्।
भक्तपुरमा दुई दिनदेखि बसेको केन्द्रीय कमिटी बैठकले ४५ केन्द्रीय सदस्य, ८९ पोलिटब्युरो सदस्य र २६ स्थायी कमिटी सदस्यसहित विभिन्न पदमा नियुक्ति र मनोनयन गरेको थियो।
यसलाई लिएर रावलले एमालेभित्र केपी ओलीको गुट ओलीको गुटबन्दीले छलाङ मारेको भन्दै कटाक्ष गरेका हुन्।
‘एमालेमा भर्खरै भएका मनोनयन, जिम्मेवारी र कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो’, उनले भनेका छन्, ‘यो देश र जनताप्रति प्रतिवद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहम् तुष्टिको नमूना हो। यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ।’
रावल आफैंले दसौँ महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरिसकेपछि कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेका थिए। उनले टीको लगाएर पद नलिने भन्दै निर्वाचनबाट आउने परिणाम स्वीकार्ने बताएका थिए।
कुनै पदमा बस्न अस्वीकार गरेपछि एमालेले रावललाई आइतवार कुनै पदमा मनोनयन गरेन। नवौँ महाधिवेशनबाट उपाध्यक्ष बनेका उनी अब एमाले नेता मात्रै रहेका छन्।
यो पनि : नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट आफ्नालाई काखा र अरूलाई पाखा लगाउने काम भएको छ ।
कमिटीको बैठकबाट वरीयताक्रम निर्धारण, स्थायी कमिटी, पोलिटब्युरो गठन तथा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन प्रकृयामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूलाई साथ दिनेलाई काखी च्यापेका हुन्।
पार्टीमा शक्तिशाली अध्यक्षको हैसियतबाट केन्द्रीय कमिटीको बैठकमा पेस गरेका नामहरूले ओलीले विगतमा आफूलाई साथ दिने नेताहरूलाई च्यापेको पुष्टि भएको छ।
उनले केन्द्रीय सदस्यको मनोनयन तथा स्थायी कमिटी गठन र पोलिटब्युरो गठनमा विगतको जिम्मेवारीलाई समेत ध्यान नदिई नेताहरूलाई जिम्मेवारी दिइएको छ।
उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यपछि ओलीले रामबहादुर थापालाई तेस्रो मर्यादाक्रममा राखेका छन्। त्यसपछि विष्णु पौडेल, सुवास नेम्वाङ र सुरेन्द्र पाण्डेको मर्यादाक्रम तोकेका छन्।
सचिवको माथिल्लो वरीयतामा टोपबहादुर रायमाझीलाई राखिएको छ। उनीपछि लेखराज भट्टको मर्यादाक्रम तोएिको छ। नवौं महाधिवेशनमा हारेका रघुवीर महासेठलाई अघिल्ला सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराईभन्दा अघि राखेका छन्।
त्यस्तै छविलाल विश्वकर्मालाई पनि विष्ट र भट्टराईभन्दा अघिल्लो मर्यादाक्रम दिइएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।























