काठमाडौं –
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका उम्मेदवार तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले आफू पार्टीको अध्यक्ष बन्दा पार्टीभित्रका ‘दाइ’हरूले अपमानित हुनु नपर्ने बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले देश बलियो हुन राप्रपा बलियो हुनुपर्ने भएकाले नै राप्रपालाई बलियो बनाउन आफूले नेतृत्वमा दाबी गरेको बताए ।
आफ्नो उम्मेदवारी कसैको विरोधमा नभएर देशको आवश्यकता, पार्टीको आवश्यकता र कार्यकर्ताको भावना अनुसार रहेको उनको भनाइ छ ।
अहिलेकै अवस्थामा पार्टी अघि बढ्ने हो भने कुनै पार्टीको दलाली गरेर दुईचार वटा मन्त्री खाने पार्टीमात्र हुने उल्लेख गर्दै उनले भने, ‘मेरो सपनाको त्यो पार्टी होइन, अब हामीले आँट नगरी भएन भनेर अघि बढेको हुँ ।’
पार्टीभित्र रहेका अग्रज नेताहरूलाई लक्षित गर्दै उनले भने, ‘तपाईंहरूले उत्पादन गरेको पुस्ता पनि पार्टीको नेतृत्व गर्न योग्य भयो, हामी नेतृत्व गर्न सक्छौँ भनेर अग्रजहरूकै अभिभावकत्वमा तपाईंहरु जिउँदो हुँदै राप्रपालाई नेपालको एक नम्बर पार्टी बनाउन सक्छौँ भनेर आँट गर्यौँ ।’
उनले पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले आफूलाई बोलाएरै आशीर्वाद दिएको भन्दै आभार प्रकट गरे । ‘यो मलाई समर्थन गर्ने, मलाई अध्यक्ष बनाउने भन्ने कुरामात्र होइन । पार्टीलाई बचाउने कि नबचाउने भन्ने कुरा हो । यो पार्टीले बोकेको मुद्दा जोगाउने कुरा हो ।’
उनले महिनाभित्र राप्रपा बाहिर रहेका राजा चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ भन्ने व्यक्तिहरू, संस्थाहरूलाई समेटेर आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने बाटोको प्रस्थान बिन्दुका रूपमा आफ्नो उम्मेदवारी रहेको बताए ।
‘सांसद हुनु, मन्त्री हुनु, पार्टीको अध्यक्ष हुनु ठुलो कुरा होइन । तर देशका लागि उसले के गर्यो भन्ने मुख्य कुरा हो,’ उनले भने । उनले नेतृत्व परिवर्तनको पक्षमा मुख खोल्न पार्टीका अध्यक्ष पशुपति शमशेर जबरालाई समेत आग्रह गरे ।
पार्टीका अर्का अध्यक्ष कमल थापालाई पनि उनले समयको पदचापलाई र कार्यकर्ताको भावना बुझ्न आग्रह गरे । उनले कमल थापालाई लक्षित गर्दै भने, ‘म बन्नुमा तपाईंको पनि मेहनत छ, लगानी छ । राजेन्द्र लिङ्देन अध्यक्ष बन्दा कसैले अपमानित हुनु पर्दैन ।’
आफूलाई अध्यक्ष बन्ने उमेर नभएको भनेर टिप्पणी गर्नेहरूलाई लक्षित गर्दै लिङ्देनले भने, ‘राजाको आशीर्वाद लिएर मन्त्री हुने तपाईंहरू ३०/४० वर्षको उमेरमा मन्त्री हुनुभयो, कति बुढोपाकोले तपाईहरुलाई त्यो बेलामा माने होलान् त ?’ उनले आफ्नो उमेर, मेरो जीवनको अवस्थालाई मात्र आधार मानेर मूल्याङ्कन नगर्न आग्रह पनि गरे ।
यस्तै राष्ट्रिय प्रजातन्त्रक पार्टी (राप्रपा)को अध्यक्ष कमल थापाले आउँदो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टी एकीकरणपछि राप्रपाको पहिलो महाधिवेशन मंसिर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ ।
दुई वर्षअघि राप्रपा र राप्रपा संयुक्त एकीकरण भएपछि थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीले अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।
महाधिवेशनमा राजेन्द्र लिङ्देनले पनि अध्यक्षको उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । पार्टीको अवस्था सबैभन्दा कमजोर बनाएको भन्दै यसलाई राष्ट्रिय पार्टी बनाउनले उनले उद्घोष गरेका छन् ।
आफूले सुरु गरेको काम अधुरै भएकोले पूरा गर्न अध्यक्षमा उम्मेदवारी दिएको थापाले बताए । ‘महाधिवेशनपछि पार्टी फुट्ने श्रृंखला दोहोरिन नदिन धेरै काम गर्नु छ,’ उनले भने ।
आफूलाई अध्यक्ष बनाउन पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेताहरु पशुपति शम्सेर जबरा, प्रकाशचन्द्र लोहनीको पनि साथ रहेको उनले दाबी गरे ।
राप्रपालाई अग्रणी शक्तिको रुपमा स्थापित गर्ने, सम्बर्द्धनबाट वैचारिक धार बनाउन बाँकी रहेकोले अध्यक्ष बन्न लागेको उनले बताए । ‘यो अभियारा पूरा गर्ने मेरो प्रयास हुनेछ ।
आर्यघाटमा नपुगेसम्म पद नछोड्ने मेरो मानसिकता छैन । निजी काम र घुम्न बाँकी छ । शारिरीक रुपमा सक्षम हुँदा नै निजी काम गर्नु छ,’उनले भने,‘मैले विश्राम लिनु भन्ने मलाई थाहा छ ।
आगामी निर्वाचनपछि अग्रणी संस्थाको रुपमा स्थापित गरेपछि वैचारिक धार बलियो भएपछि, हिन्दुराष्ट्रको आधार तयार भएपछि विश्राम लिन्छु ।’ राजेन्द्र लिङ्देन र धवलशम्शेर राणाले नेतृत्व लिन खोज्नु स्वागतयोग्य भएको उनले बताए ।
‘आफ्ना भाइ छोराले म परिवारको जिम्मेवारी लिन्छु भन्दा नकारात्मक लिनु हुँदैन । चार वर्ष धैर्य गर्नुस् द:ख गर्ने काम हामीलाई छाड्दिनुस्,’ उनले भने । युवा पुस्ता भन्दै उम्मेदवारी घोषणा गरेकोमा भने उनले आपत्ति जनाए ।
‘युवा उमेर गनेर अध्यक्ष हुने हो भने आउनुस् टुडिखेलमा दौडौं । दौडदा मलाई जित्नु भयो भने म अध्यक्षको उम्मेद्वार हुन्न, ’ उनले भने, ‘नयाँ जिम्मेवारी लिन्छु भन्नेले अग्रजलाई गाली गरेर, बदनाम गरेर, असफल भनेर नेतृत्व लिनु सम्भव छैन ।
एकाध पटक चुनाव जित्दैमा लोकप्रिय भइदैन । बुद्धमान तामाङ, पशुपति शम्शेरले धेरै पटक जित्नु भएकै हो । पुरानो नेतालाई जनताले पत्याउदैन मलाई पत्याउ पर्छ भन्ने हो भने पार्टी एकता हुँदैन । ’























