लालबाबुको पण्डितले छाडेँ एमालेको केन्द्रिय सदस्य, यस्तो छ कारण

चितवन –

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले अब पार्टीको सामान्य संगठित सदस्यमात्रै भएर बस्ने बताएका छन् । केपी ओलीले केन्द्रीय सदस्यमा सिफरिस गरेको भए पनि पण्डितले केन्द्रीय सदस्य पद त्यागेको घोषणा गरेका छन् ।

‘मैले त्यागिदिएँ अब संगठित सदस्य भएर बस्छु, प्रतिनिधिसभा सदस्यसमेत रहेका एमाले नेता पण्डितले भने,’ त्यो पनि रहन दिएनन् भने त्यो पनि त्यागिदिन्छु ।’

एमाले नेता पण्डितले यसअघि आफू पदाधिकारीमा चुनाव लड्ने बताएका थिए । खास गरी उनले पार्टीको सचिव पदमा मागदाबी गरेका थिए ।

तर, केपी ओलीले घोषणा गरेको १९ सदस्यीय पदाधिकारीको सूचीमा पण्डितको नाम नपरेपछि उनले केन्द्रीय सदस्य समेत त्यागेर संगठित सदस्य मात्रै रहने घोषणा गरेका हुन् ।

मोरङमा डा. शेखर कोइरालालाई चुनाव हराएका पण्डित एमालेका पुराना एवं त्यागी नेतामध्ये एक हुन् । सामान्य प्रशासनमन्त्री हुँदा डीभी भर्ने कर्मचारीमाथि कडा रुपमा प्रस्तुत भएका पण्डित एमालेका लोकप्रिय नेतामध्ये एक मानिन्छन् ।

यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिने दुई नेता पदाधिकारीमा दावेदार भएपछि अटाउन सकेनन् ।

पूर्वमाओवादीका नेताहरुको व्यवस्थापन गर्नुपर्ने तथा अन्य आकांक्षी समेत धेरै भएपछि ओलीका विश्वास पात्र मानिने गोकुल बाँस्कोटा र महेश बस्नेत पदाधिकारीमा नअटाएका हुन् । 

ओलीले बन्दसत्रमा पदाधिकारीको नामावली प्रस्तुत गर्दा बाँस्कोटा र बस्नेतको नाम उच्चारण गरेनन् । उनीहरु दुबै सचिवका दावेदार थिए भने चुनाव चुनावी लबिङमा समेत उत्रिसकेका थिए ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा आफूसहित १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गरेका छन् । ओलीले ‘सहमतिका लागि’ पदाधिकारीका यी नाम घोषणा गरिएको बताएका छन् ।

ओलीले आफूलाई अध्यक्षका रुपमा घोषणा गर्दा हलमा ताली गुञ्जिएको थियो । ‘सहमतिका लागि घोषणा गरिएका पदाधिकारीका नामहरु यस प्रकारका छन्’ भन्दै ओलीले बन्द सत्रमा भने, ‘अध्यक्षमा केपी शर्मा ओली ।’

अध्यक्ष ओलीले बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम प्रस्ताव गरेका छन् । बाँकी ६ जना उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्षी शाक्य, सुरेन्द्र पाण्डे रामबहादुर थापा बादल र विष्णु पौडेलको नाम उनले सुनाए ।

त्यसपछि महासचिवमा शंकर पोखरेलको नाम घोषणा गरिसकेपछि ओलीले सम्झिए– ‘ए सुवास नेम्वाङजीको नाम उपाध्यक्षमै छुटेछ । त्यही पनि आफैंले देखाउन आएपछि मात्रै देखियो । सुवाचन्द्र नेम्वाङ माथि नै छुटेछ । उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ ! बरिष्ठ उपाध्यक्षदेखि सबैको नाम मिलाउँदा ७ जना उपाध्यक्षहरु हनुहुन्छ ।’

महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरिसकेपछि ओलीले तीन उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरेका छन् ।

त्यसैगरी ७ जना सचिवमा ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पदमा अर्यालको नाम प्रस्ताव गरेका छन् ।

ओलीले यी नामहरु हलबाट पारित गर्नका लागि भने रुलिङ गरेनन् । बरु उनले प्रस्तावित नेताहरुलाई मनोनयन दर्ताका लागि जान आग्रह गरे ।

‘यसरी १९ जना पदाधिकारीहरुमा सहमति जनाउनका निम्ति म कमरेडहरुलाई हार्दिक आग्रह गर्न चाहन्छु’ ओलीले भने, ‘पदाधिकारीमा यी नामअनुसार नै साथीहरुले मनोनयन दर्ता गर्न पनि आग्रह गर्न चाहन्छु । अब कमरेडहरु निर्वाचन आयोगको नजिकै कार्यालयमा मनोनयन दर्ता गर्न, प्रस्तुत गर्नका लागि म आग्रह गर्न चाहन्छु । आजको यो सेसन यहीँ समाप्त हुन्छ ।’

केपी ओलीले सहमतिका लागि नामहरु प्रस्तुत गरिएको भने पनि भीम रावल र घनश्याम भुसाललाई भने उनले आफ्नो टिममा अटाएनन् । ३०१ केन्द्रीय कमिटीको नाम प्रस्ताव गर्दा भने ओलीले भीम रावल र घनश्याम भुसाललाई पनि त्यसमा राखेका छन् ।    

पदाधिकारीमा यी नामहरु सकेसम्म मिलाएर घोषणा गरिएको ओलीले बताए ।  उनले भने, ‘मैले यी नामहरु अध्यक्ष मण्डलको तर्फबाट प्रस्तुत गरिरहेको छु । हाम्रोवीचमा सल्लाह पनि भो ।’

ओलीले यसो भनिरहँदा अध्यक्षमण्डलको समेत सदस्य रहेका भीम रावलले भने ओली पक्षबाट एकलौटी गरिएको भन्दै आपत्ति जनाएका छन् । अब अध्यक्ष, उपाध्यक्ष लगायतका पदमा निर्वाचन हुने सम्भावना बढेको छ ।

यद्यपि नेकपा एमालेले यसअघि प्यानल नबनाई चुनाव लड्ने आचार संहिता बनाएको थियो । तर, केपी ओलीले सहमतिका लागि भन्दै आफ्नो तर्फबाट १९ जनाको प्यानल नै तयार पारेका छन् ।

त्यसो त ओलीले सुवास नेम्वाङको नाम पढ्दा मात्र गल्ती गरेका होइनन्, ३०१ केन्द्रीय कमिटीको नामावली पढ्दा कैयौं नामहरु दोहोर्याएका थिए ।

अच्युत मैनालीको नाम दुई ठाउँमा परेकाले एक ठाउँमा हटाएर पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेललाई केन्द्रीय सदस्य बनाउने ओलीले प्रस्ताव गरेका थिए ।

त्यस्तै उनले मधेसी क्लष्टरको नामै लिन छुटाए र जनजातिकै क्लष्टरमा मधेसी क्लष्टरको नाम पढेर सुनाए । ए, अर्को पो पढिएछ भन्दै उनले नामहरु वाचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...