चितवन –
नेकपा (एमाले)का नेता घनश्याम भुसालले लडाइँका लागि तयार रहन आह्वान गरेका छन् । पार्टीको १०औं महाधिवेशनको बन्दसत्र चलिरहँदा उनले ट्विट गर्दै उक्त आह्वान गरेका हुन्।
बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न सुरु गरेपछि नेता भुसाल हलबाट बाहिरिएका थिए।
‘सुखदु:खे समे कृत्वा लाभालाभौ जयाजयौ। ततो यु’द्धाय युज्यस्व नैवं पापमवाप्स्यसि,’ उनले संस्कृत भाषामा ट्विट लेखेका छन्। नेपालीमा यसको अर्थ हुन्छ- ‘जय-पराजय, लाभ-हानि र सुख-दु:’ख समान सम्झँदै, ल’डा’इँको लागि तयार बन। यसरी ल’ड्दा पा’प लाग्दैन।’
भुसालले महाधिवेशनमा उम्मेदवारीलाई ल’डा’ईं जस्तै ठानेका छन् । उनी अध्यक्ष केपी शर्मा ओलीका कटु आलोचक भएकाले जित्ने सम्भावना कमजोर छ । तैपनि, उनले ल’डा’ईंका लागि तयार बनेको र जय पराजय समान सम्झँदै ल’ड्न लागेको सन्देश दिएका छन् ।
जारी महाधिवेशनमा नेता भुसालले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
यस्तै भुसालले उपाध्यक्ष पदका लागि प्रचार थालेका छन्। यसअघि अध्यक्षमा उठ्ने घोषणा गरेका भीम रावलसँगै उनले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका थिए। तर उनले बन्द सत्र सुरु हुनअघि आफूलाई उपाध्यक्षमा रुपमा प्रस्तुत गर्दै प्रचार थालेका हुन्।
एमालेको शुक्रबार सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले दुई उपाध्यक्ष र दुई उपमहा सचिव पद थपेको थियो। यस्तोमा नवौँ महाधिवेशनबाट उपमहासचिवमा विजयी भुसालले उपाध्यक्षमा सजिलै सेट हुने रणनीतिसहित प्रचार थालेका हुन्।
भुसालले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका थिए। तर, आफू निकटका नेताहरुबाट ‘सुरक्षित पद’का लागि तयारी गर्न द’बा’ब बढेपछि उनी पछि हटेका थिए।
एमालेमा ६ जना उपाध्यक्ष हुने निर्णय भएको छ। असोजमा सम्पन्न विधान महाधिवेशनबाट ४ जना मात्रै उपाध्यक्ष हुने पारित भएको भए पनि शुक्रबार मध्यरातमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले ६ जना उपाध्यक्ष हुने निर्णय गरेको हो।
भुसाल र रावल माधव नेपाललाई विभाजनमा साथ नदिइ एमालेमै बसेका थिए। रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भि’ड्ने नै बताएका छन्।
वरिष्ठ उपाध्यक्षमा भने एमाले अध्यक्ष ओली पक्षीय ईश्वर पोखरेल र सुवास नेम्वाङबीच टकराव चलिरहेको छ। ओलीले नेम्वाङलाई केही राजनीतिक लाभका पद देखाएर ब्याक गराउन खोजे पनि सफल भएका छैनन्।
सुखदु:खे समे कृत्वा लाभालाभौ जयाजयौ |
— Ghanashyam Bhusal (@gsbhusal) November 27, 2021
ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ।।
यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनका प्रतिनिधि र नेताहरूलाई प्रतिस्पर्धामा जान हतारो नगर्न आग्रह गरेका छन् । नेतृत्व चयनका लागि व्यापक रूपमा सहमति हुनुपर्ने भन्दै उनले बन्दसत्रमा लामो सम्बोधन गर्ने क्रममा विपक्षीको चुनौती सामना गर्न पार्टीभित्र सहमतिमा नै नेतृत्व चयन हुनुपर्नेमा जोड दिए ।
आफूविरु’द्ध नै भोट मागिरहेका उपाध्यक्ष भीमबहादुर रावल, वरिष्ठ उपाध्यक्षमा आफ्नै ‘किचेन क्याबिनेट’ मा रहेका ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङ तथा महासचिवमा पनि विश्वासपात्रहरू
विष्णु पौडेल र शंकर पोखरेललाई मिलाउन नसकी पूर्वनियोजित समयभन्दा ८ घण्टा ढिलो बन्दसत्र हलमा छिरेका ओलीले ‘समय आउँछ’ भन्दै प्रतिस्पर्धामा जानका लागि उत्सुक नहुन प्रतिनिधिहरूलाई भनेका हुन् । उनले अध्यक्षलाई साथ दिन पनि आग्रह गरेका थिए ।
‘म आग्रह गर्न चाहन्छु कसै न कसैले कुनै न कुनै ठाउँका जिम्मेवारी सम्हाल्नुपर्छ तर आफ्नो महत्वकांक्षाका कारणले अस्वस्थ होडबाजी, अस्वस्त प्रतिस्पर्धा र प्रतिस्पर्धाले संस्थालाई नोक्सान पार्ने गतिविधिहरू नगरौं,’ ओलीको आग्रह थियो, ‘पार्टीकै प्रभाव, प्रतिष्ठा, एकतामा खण्डित हुने खालका गतिविधि हामी नगरौं ।’
पार्टीका टोलदेखि केन्द्रसम्म र राज्य संयन्त्रका वडादेखि प्रतिनिधिसभा र राष्ट्रिय सभासम्ममा अवसर मिल्ने भन्दै प्रतिस्पर्धीलाई ओलीले सोच्नका लागि सार्वजनिक आह्वान गरेका छन् ।
‘फेरि पनि पालो आउँछ । हामीसँग यै देश छ, सानो भए पनि यस देशमा यत्रा पालिकाहरू छन्, यत्रा प्रदेशसभा छन्, प्रतिनिधिसभा छ, राष्ट्रियसभा छ । अरु विभिन्न निकाय छन्, अरु विभिन्न ठाउँ छन् ।
पार्टीका टोल कमिटीदेखि केन्द्रीय कमिटीसम्म विभिन्न निकाय छन्,’ उनले आग्रह गरे, ‘अहिले नभए फेरि अर्को समय आउला । हामीले हतारो गर्ने कुरा, हतारोको साथ प्रतिस्पर्धा गर्ने कुरा अर्थात् लोकतान्त्रिक अभ्यासलाई प्रतिस्पर्धा मात्रै गर्ने र प्रतिस्पर्धालाई अस्वस्थ बनाउने खालका कामहरू नगरौं भन्ने आग्रह गर्न चाहन्छु ।’
झन्डै सवा २ घण्टाको सम्बोधनका क्रममा निर्वाचन र प्रतिस्पर्धाका लागि उत्साहित नहुन नेताहरूलाई निर्देशनात्मक रूपमा उनले आग्रह गरेका हुन् ।
महाधिवेशनको उद्घाटन सत्रले जनमत कोसँग छ भन्ने कुरा नारायणी नदीको किनारमा जनता उपस्थित गराएर देखाएको भन्दै बन्दसत्रले मुलुकलाई नेतृत्व दिनसक्ने नेतृत्व सहमतिमा नै चयन गर्नुपर्ने उनको भनाइ थियो ।
एमाले महाधिवेशन विश्वमै नमूनाका रूपमा सम्पन्न हुने भन्दै ओलीले भने, ‘यो एउटा नमूना महाधिवेशनको रूपमा हुनेछ । पूर्ण लोकतान्त्रिक अभ्यास, उच्च समझदारी, व्यापक सहमति, सुदृढ एकता हाम्रो नीति हो । यस नीतिको कार्यान्वयन हामी यस महाधिवेशनबाट गर्नेछौं ।’























