नेम्वाङलाई राष्ट्रपति र शाक्यलाई उपराष्ट्रपति बनाउने ओलीको प्रस्ताव !

काठमाडौं –

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपति बनाउने प्रस्ताव गर्नुभएको छ ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी चयनका लागि सकस भएपछि आफूपक्षीय नेता नेम्वाङलाई ओलीले वरिष्ठ उपाध्यक्षबाट पछि हट्न आग्रह गर्दै निर्वाचनपछि राष्ट्रपति बनाउने प्रस्ताव गर्नुभएको न्यूजकारखाना समाचार एजेन्सीले जनाएकाे छ ।

अध्यक्ष ओलीले अष्टलक्ष्मी शाक्यलाई भने उपराष्ट्रपति बनाउने प्रस्ताव गर्नुभएको छ । आफूले यसअघि मुख्यमन्त्री बनाएको स्मरण गर्दै ओलीले आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

आफू उत्तरार्धतर्फ लागेकाले अहिले सबैलाई मिलाएर लैजाने प्रयासमा ओली रहेको उनी निकट नेताहरू बताउँछन् । केपी ओली बन्द सत्र स्थलतर्फ केहीबेर अघि प्रवेश गनुभएको छ । ‌ओलीकाे आगमनसँगै बन्द सत्र केहीबेरमा सुरु हुनेछ ।

यस्तै एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् । 

उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उनले अब पछि हट्ने अवस्था नरहेको बताए । होटल सेभेन स्टारमा बन्दसत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदैछ । 

पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयासस्वरुप एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गर्दै बन्द सत्रमा प्रस्ताव पेस गर्दैछ ।

तर रावलले भने आफू उम्मेदवारीबाट पछि हटि नसकेको बताएका छन् । उनले निकटस्थहरूसँग आफूले सात सय मत ल्याउने बताइरहेका छन् । 

यस्तै नेकपा एमाले अध्यक्ष केपी ओलीले नेता भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन् । रावलले उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए ।

ओलीले छलफलमा रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिन सकिने प्रस्ताव राखेको नेकपा एमालेका एक पदाधिकारीले जानकारी दिए ।

ओलीले आफू बसेको होटल सफारी पार्कमा नेताहरुसँगको भेटलाई तिब्रता दिएका छन् । दशौं महाधिवेशनमा रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

यो पनि : एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा उद्घाटनसत्रको भीडमा भेटिइन् ९० वर्षीया तुलसी पौडेल। पर्वत घर भएकी पौडेल देवघाटमा बस्छिन् ।

भत्ता दिने नेता हेर्न र उनीहरूले भन्ने कुरा सुन्न आएको उनले बताइन्। एकपटक कांग्रेसलाई भोट दिए पनि कुनै काम नगरेको गुनासो उनले गरिन्। 

‘माले हुँदाबाटै यस पार्टी (एमाले)लाई भोट दिँदै आएकी छु, बाचुञ्जेल दिइरहन्छु’, उनले भनिन्, ‘भत्ता दिन सुरु गरे, पछि बढाए। वृद्धभत्ता दिने पार्टीका नेता भनेर हेर्न आएकी हुँ।’ 

नवलपुरको मुक्तिचोक बस्ने कली सुनार बगरको चिसो भुइँमा बदाम खाँदै चासोका साथ एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषण सुन्दै थिइन्। उनी ओलीलाई राजनेता  मान्छिन्।

ओली गरिब दुःखी र असहायको सहारा बनेको उनको बुझाइ छ। उमेरले ६० वर्ष पुग्न लागेकी उनी अर्को सालदेखि भत्ता खाने पाउने आशामा खुसी छिन्। 

अर्घाखाँची चिदिकाबाट दुई दिन लगाएर चितवन आइपुगेकी छन्, मनकला न्यौपाने। उनी पानीको व्यवस्था नभएको भन्दै कार्यक्रमस्थलमा भौतारिइरहेकी थिइन्। तर,ओलीको भाषण सुनेर मक्ख थिइन्।

‘हाम्रो केपी ओलीको कार्यक्रम भनेर आइयो। भोकप्यास छैन। महाधिवेशनमा जिताएर फेरि नाच्ने हो’, उनले भनिन्। ओलीको काम, व्यवहार र देशलाई माया गर्ने शैली मन पर्छ उनलाई। ‘उहाँले वृद्धवृद्धा त पाल्नुभयो। अब एउटै बिन्ती छ– युवाहरूलाई पनि स्वदेशमा रोजगारको अवसर जुटाइदिनु पर्‍यो’, उनले भनिन्, ‘उहाँकै आशा र भरोसा छ।’ 

ओलीको स्वर सुन्न भन्दै नवलपुर पिठुवाबाट छोरासँग मोटरसाइकल चढेर महाधिवेनस्थलमा आएकी छन्, ७३ वर्षीया विष्णु श्रेष्ठ। वृद्धाभत्ता दिने नेता यिनै भएकाले भाषण सुन्न आएको उनले बताइन्।

‘उहाँ मलाई निकै मनपर्ने नेता हो। अहिलेको नेतामध्ये सबैभन्दा मन पर्छ’, उनले भनिन्। पर्वतकी हरिकला सुनारले ओलीलाई भेट्न/सुन्न नारायणगढ आएको बताइन्। ‘उहाँको भाषण निकै मन पर्छ’, उनले भनिन्। ओली ज्येष्ठ नागरिकलाई माया गर्ने नेता भएको उनले बताइन्। 

सञ्जोग ठाकुरले ओलीलाई चितवनमा स्वागत गर्न सिरहा मिर्चैयाबाट आएको बताइन्। ‘हामी पहिलादेखि यही पार्टीमा छौ। उहाँ हामीलाई मन पर्ने नेता हो’, उनले भनिन्।

सिरहामा सरकारले वृद्धभत्तामा दलित र अन्यलाई भे’द’भा’व गरेको गुनासो उनले गरिन्। भनिन्, ‘कानुन एउटै बनाउनुपर्छ। समान व्यवहार हुनुपर्‍यो।’ 

धादिङका ६५ वर्षीय रुद्रबहादुर श्रेष्ठ ओलीका कुरा सुन्न महाधिवेशनस्थल आइपुगे तर भीडमा छिर्न सकेनन्। ओलीलाई प्रत्यक्ष देखेर उनका कुरा सुन्ने रहर पूरा हुन नसके भन्दै उनले दुःखमनाउ गरे।

उनी बाहिर चोकमा एक पसल अगाडि सडकपेटीमा थचक्क बसेर ओलीको भाषण सुन्दै थिए। ‘भित्र छिर्न सकिनँ। प्रत्यक्ष देख्न र सुन्न मन थियो पाइनँ’, उनले भने। 

म्याग्दीको रुमा गाउँबाट आएकी मनसुवा गोतामेले ओलीको पार्टीले सहयोग गरेको बताइन्। ‘उहाँ आउने भनेपछि आउन मन लाग्यो। देख्न मन लाग्यो’, उनले भनिन्, ‘उहाँ नै हाम्रो नेता हो। अब पनि उहाँले नै जित्नुपर्छ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...