काभ्रे – पनौती नगरपालिकामा अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाइएको छ ।
“दिगो विकास र सुनौलो भविष्यको सार: स्थानीय युवाको सहभागिता समृद्ध आधार” भन्ने मूल नाराका साथ पनौती नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजनामा भव्यताका साथ मनाइएको हो ।
कार्यक्रमका सभाध्यक्ष तथा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पनौतीलाई समृद्ध बनाउन र पनौतीको सामाजिक रूपान्तरणका लागि युवाहरूको महत्त्वपूर्ण योगदान रहेको बताउनु भएका छ साथै भण्डारीले साथी संगतले युवाहरूलाई बिगार्न सक्ने भएकाले आफ्नो लक्ष्य मिल्ने साथीसँग मात्र संगत बढाउन उनले युवाहरूलाई आग्रह गर्नुभएको छ ।
यस्तै कार्यक्रममा बोल्दै नगरकी उपप्रमुख गीता बन्जाराले युवाहरूलाई सीप विकासमा ध्यान दिन आग्रह गरिन्। उनले भनिन्, “आजको युगमा शिक्षासँगै सीपको ज्ञान हुनु अपरिहार्य छ। सीपले मात्र युवाहरूलाई आत्मनिर्भर बनाउन सक्छ र विदेश जाने बाध्यता कम गर्न सहयोग पुर्याउँछ।” उनले नगरपालिकाले युवा लक्षित सीप विकासका कार्यक्रमहरू ल्याउने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
त्यसैगरी, पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले युवाले प्रविधिको अधिक प्रयोग गर्नुपर्ने बताए । प्रविधिको प्रयोगबाट सही कुरा मात्र अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए। युवाहरू अध्ययनका लागि विदेश गए पनि त्यहाँ सिकेर आएको ज्ञानलाई नेपालमै प्रयोग गर्नुपर्ने उनको सुझाव थियो ।
पनौती नगरपालिकाका शिक्षा निर्देशक प्रणराज न्यौपानेले युवाहरुले संसारका कुनैपनि मुलुकमा ठुलाठुला परिवर्तनहरु गर्न युवाहरुको अहम भुमिका रहेको बताउदै हाम्रो देशमा पनि युवाहरुको समुह बलियो रहेको बताए । तर यस समुहलाई सहि सदुपयोग गरेमा भविस्यमा युवाहरुले मुलुक हाक्न सक्ने बिश्वास व्यक्त गरे ।
























