काभ्रे – प्राकृतिक तथा धार्मिक महत्व बोकेको काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-३, को ताराखसे पोखरीमा सार्वसाधारण र धार्मिक व्यक्तिहरुको आकर्षण बढ्न थालेको छ । जनैपूर्णिमा तथा गोने ङ्याको दिन झाँक्रीहरुको बाग्लो उपस्थितिका साथ पोखरी परिसरमा पूजापाठ तथा सेरग्याम संपन्न गरेका छन् ।
करिव २०० बढि झाँक्रीहरु (महिला/पुरुष) ले भूमिको रक्षा एवम् अन्नबालीहरुको संरक्षणका लागि पुजा गरेका थिए । साथै बर्षभरी रोगी भईरहने, विरामी हुने, डराउनेहरुलाई सातो बोलाएर मन्छाउने काम गरेका थिए ।
बौद्ध, हिन्दू र बोन्बोहरुको पवित्र स्थलको रुपमा विकसित हुँदै गरेको ताराखसे पोखरीको विशेषता थुप्रै छन् । जंगलको बीच भाग जहाँ पहाडको थुम्को अनि जमेको पानी पोखरीले सबैलाई अचम्मित तुल्याउँछ । ताराखसे पोखरी (सार ताईबा घ्योई) प्राचीन समयमा तारा खसेर खाल्डोको रुपमा परिणत भएको र पछि नागहरु आएर बसेको भनाई बोन्बो (झाँक्री ) हरुको छ ।
यसैबीच तारा खसे पोखरीलाई थप ब्यवस्थित बनाउने कामले मुर्त रुप लिने क्रममा पोखरी क्षेत्रमा निर्माण गरिएको विभिन्न भौतिक संरचनाको आज जनैपूर्णिमाको अवसर पारेर गाउँपालिका अध्यक्ष दिनेश लामाले उद्घाटन गर्नु भएको छ ।
उद्घाटन पछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै पालिका अध्यक्ष लामाले रोशी गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्न दुरदृष्टि बनाएर अगाडि बढेका छौँ भन्नुभयो। रोशी गाउँपालिकामा पर्यटन प्रवद्र्धनको लागि कहाँ कहाँ के के संभावना छ बिस्तृत अध्ययन गरी त्यसलाई कार्यान्वयन गर्न पहलकदमी लिएका छौं ।
सडक पूर्वाधारको पहुँच राम्रो छैन । तर पोखरी क्षेत्रलाई भने व्यवस्थित बनाउने काम थालिएको गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो । ‘गाउँपालिकाभित्र रहेको धेरै पर्यटकीय स्थलहरु मध्ये यो पोखरी पनि एक ईतिहास बोकेको स्थल हो । यो पोखरीलाई व्यवस्थित गराउने काम सुरु भैसकेको र संघीय सरकारबाट एक करोड बजेट छुट्याएर काम गरेको जानकारी दिनुभयो। अघिल्लो वर्षको तुलनामा यो वर्ष धेरै व्यवस्थित भएको छ, उहाँले भन्नुभयो -अर्को वर्ष अझै सडकलाई थप व्यवस्थित गराउने छौँ ।
उपाध्यक्ष मिमबहादुर वाईबा (ज्वाला) ले गाउँपालिकाले पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएर काम गरेको बताउनुभयो । ‘हामीले सबै पक्षसँगको साझेदारीमा पर्यटन क्षेत्रको विकास गर्न प्रयत्न गरिरहेका छौँ । हाम्रो गाउँपालिकाको बलियो आधार पर्यटन नै हो । यसलाई टेवा पुर्याउन तारा खसे पोखरीले मद्दत गरेको छ ।’ उपाध्यक्ष वाईबाले भन्नुभयो ।
वडा नम्बर ३ का वडाध्यक्ष धनजीत लामाले तारा खसे पोखरी वडाको मात्रै नभएर सिँगो गाउँपालिकाको पर्यटन विकासका लागि बलियो आधार भएको बताउनुभयो । उहाँले तारा खसे पोखरीको थुप्रै किम्बदन्ती र पौराणिक महत्व रहेको बताउँदै यसलाई युवा पुस्तासम्म पुर्याएर आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य स्थलको रुपमा विकास गर्न पहल भएको बताउनुभयो ।
उहाँले संघीय सरकार बन्नुअघि पनि पुर्वाधार निर्माणको कामहरु भएको र संघीय सरकार गठनसँगै स्थानीय सरुगाउँपालिकाले तिव्रता दिएको जानकारी दिनुभयो। संघीय सरकारको १ करोड आर्थिक सहयोगमा पोखरी क्षेत्र वरिपरि रेलिङ लगाउनुका साथै दर्शनार्थीको सहजताका लागि सिँढी निर्माण गरिएको छ । पार्किङ, स्नान घर, आवास भवन, शौचालय, पिकनिक स्पट, पानी धारा लगायतको निर्माण गरिएको छ ।
यसको साथै ताराखसे पोखरीबाट बेथानचोक जोडिन ट्रेकिङ रुटको लागि निर्माण संपन्न भएको बताइयो।
समुन्द्री सतहबाट २५ सय ५० मिटरको उचारमा रहेको यो पोखरीमा जनैपुर्णिमाको दिन विशेष मेला लाग्ने गर्छ । यस वर्ष पनि साेमबार यहाँ विशेष मेला लागेकाे र मेला भर्न टाढाटाढाबाट सयाैंकाे संख्यामा भक्तजनहरु आएका थिए ।