काभ्रे – काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले २०८० सालको माध्यमिक शिक्षा परिक्षा (एस.इ.इ)मा उत्कृष्ट भएका विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।
आज आइतबार गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल र उपाध्यक्ष दावा लामाले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
अध्यक्ष भुजेल र उपाध्यक्ष तामाङले गाउँपालिका भित्र सामुदायिक विद्यालयबाट माध्यमिक शिक्षा परिक्षा (एस.इ.इ )मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका छात्र तर्फ करिश गिरी र छात्रा तर्फ मिरा श्रेष्ठलाई १/१ लाख नगद पुरस्कार सहित सम्मान गरेका हुन् ।
उत्कृष्ट अंक ल्याई पुरस्कृत हुनेमा भुम्लु गाउँपालिका वडा नं. १ सापिङ, रिठ्ठेस्थित श्री सेतीदेवी माध्यमिक विद्यालयका छात्र करिश गिरीले ३.७० जि.पि.ए. ल्याएका छन् भने छात्रातर्फ वडा नं. ३ बेखसिम्लेस्थित श्री वनदेवी माध्यमिक विद्यालयका मिरा श्रेष्ठले ३.३५ जि.पि.ए. ल्याएका हुन् ।
कार्यक्रममा सामाजिक विकास समिति संयोजक एवं वडा नं. ५ का वडा अध्यक्ष अञ्चलकुमार मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य कमलराज गिरी, प्रमुख प्रशासकीय अधिकृत सुदर्शन भट्टराई, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विद्यालयका शिक्षक शिक्षिकाहरु, विद्यार्थीहरु, अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो ।























