काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले चितवन–३ बाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई सर्वसम्मत सिफारिस गरेको छ।
तत्कालीन नेकपा हुँदा भरतपुर महानगरपालिकाको अध्यक्ष रहेका न्यौपाने २०७८ माघमा एमाले चितवनको अध्यक्ष बनेका थिए । माडी नगरपालिकाका बासिन्दा रहेका न्यौपाने विद्यार्थी राजनीतिबाट आएका हुन् ।
चितवन–३ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चुनावी प्रतिस्पर्धामा छन्। एमालेले राप्रपासँग चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरिसकेको छ। त्यस्तो हुँदा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे पनि सो क्षेत्रबाट उम्मेदवार बन्ने तयारी छ।
निर्माण व्यवसायी पाण्डे ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रचण्डसँग पराजित भएका थिए । त्यतिबेला उनलाई काँग्रेसले उम्मेदवार बनाएको थियो । प्रचण्डले ४८ हजार २ सय ७६ र तत्कालीन बहालवाला वन तथा वातावरणमन्त्री पाण्डेले ३८ हजार ९ सय ३५ मत ल्याएका थिए ।
यसपटकको निर्वाचनमा एमाले र राप्रपाले गठबन्धन गर्ने सैद्धान्तिक सहमति गरिसकेका छन् । झापा–५ मा राप्रपाले एमाले अध्यक्ष केपी ओली र झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई सघाउने छन् ।
प्रचण्डले यसअघि नै चितवन–३ बाट निर्वाचन लड्ने घोषणा गरेका छन् । प्रचण्डलाई बर्दिया, कालिकोट, रूकुम, गोरखा, धनुषा सिराहा र सिन्धुलीलगायत जिल्लाबाट निर्वाचन लड्न आउन सम्बन्धित जिल्लाका पार्टी नेताले आग्रह गरेका थिए । तर, उनले गृहजिल्ला नछाड्ने स्पष्ट गरिसकेका छन् ।























