रन्जु दर्शना प्रतिनिधिसभा चुनावमा यो क्षेत्रबाट उठ्ने घोषणा !

काठमाडौँ – रन्जु दर्शना आउँदो प्रतिनिधिसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उठ्ने भएकी छिन् । विवेकशील साझा पार्टीकी पूर्वनेता दर्शनाले काठमाडौं ५ बाट उठ्ने तयारी भएको र केही दिनमा औपचारिक घोषणा गर्ने बताइन् ।

प्रतिनिधिसभाको आगामी चुनावमा आफूले उम्मेदवारी दिने जानकारी दिँदै उनले इकान्तिपुरसँग भनिन्, ‘आगामी चुनावमा म काठमाडौं क्षेत्र नम्बर ५ बाट उठ्ने तयारी गरेकी छु।

केही दिनमा मैले औपचारिक रूपमै यसको घोषणा गर्छु ।’ उनले आफूले स्वतन्त्र रूपमा उम्मेदवारी दिने पनि जानकारी दिइन् । तर काठमाडौंमा अन्य स्वतन्त्र उम्मेदवारहरूसँग पनि सहकार्य गरिने उनले बताइन् । ‘अन्य क्षेत्रमा पनि स्वतन्त्र रूपमा उम्मेदवार उठ्ने कुरा छ । उहाँहरुसँग मिलेर हामी चुनावमा जान्छौं,’ उनले भनिन् ।

२०७४ सालको चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका ईश्वर पोखरेल विजयी भएका थिए । उनले नेपाली कांग्रेसका प्रकाशशरण महतलाई झन्डै १० हजार मतले हराएका थिए ।

पोखरेलले २३ हजार २९ मत ल्याउँदा महतले १३ हजार १ सय ६९ मत प्राप्त गरेका थिए । त्यस्तै विवेकशील साझा पार्टीका उम्मेदवार उज्वल थापाले ६ हजार ८ सय ५३ मत ल्याएका थिए ।

दर्शना यसअघि विवेकशील पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएसँगै चर्चामा थिइन् । २१ वर्षकै उमेरमा उनले मेयरमा उम्मेदवारी मात्रै दिएकी थिइनन्, उनी तेस्रो स्थानमा रहँदै २३ हजार ४ सय ३९ मत प्राप्त गरेकी थिइन् । त्यतिबेला उनले चुनाव नजिते पनि काठमाडौंवासीको मन जितेको प्रतिक्रिया दिएकी थिइन् ।

वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठनको मूल नेतृत्वमा अधिकतम ढोंग पाएको उल्लेख गर्दै उनले विवेकशील साझा पार्टी छाडेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...