काठमाडौं – नेकपा एमालेको अनुशासन आयोगले नेता घनश्याम भुसाललाई कारवाही सिफारिस गरेको छ।
पार्टी अनुशासन विपरीत गतिविधि गरेको, अध्यक्ष केपी शर्मा ओलीले लिएको नीतिको आलोचना गरेको र पार्टीलाई हतोत्साहित गराउने काम गरेको भन्दै आयोगको सचिवालय बैठकले कारवाहीको सिफारिस गर्ने निर्णय गरेको हो।
आयोगका एक पदाधिकारीले केन्द्रमा कारवाही सिफारिस गरिएको बताए। ‘पार्टी अनुशासनविपरीत गर्नेलाई कारवाही नगर्ने कुरा भएन। एउटा टेलिभिजन अन्तर्वार्तामा पार्टी अनुशासनविरपरीत बोलेकाले हामीले बैठक बसेर कारवाही सिफारिस गरेको हो,’ उनले भने।
स्थायी समिति सदस्य रहेका भुसालले अन्तर्वार्तामा पार्टी नेतृत्वले गलत नीति लिँदा स्थानीय तह निर्वाचनमा एमालेले पराजय व्यहोर्नुपरेको भन्दै आलोचना गरेका थिए।
‘पार्टी विभाजन गलत थियो। त्यसमा दीपावली मनाउने कुरा पनि गलत थियो। दुईपटक संसद विघटन गलत थियो,’ भुसालले भनेका थिए। महाधिवेशनमा अपनाइएको प्रक्रियाको पनि उनले आलोचना गरेका थिए। ओलीका पछिल्ला सबै प्रयोग असफल भएको यो निर्वाचनले पुष्टि गरेको उनको तर्क थियो।
यस्तै नेकपा एमालेका सचिव योगेश भट्टराईले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नपुर्याउने बताएका छन्।
पार्टीको अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारवाही सिफारिसको निर्णय गरेका बेला योगेशले सांकेतिक रुपमा असन्तुष्टि जनाएका हुन्। यस्तो निर्णयले पार्टीलाई सही ठाउँमा नपुर्याउने उनको चिन्ता छ।
‘अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ,’ उनले भनेका छन्, ‘आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सहि ठाउँमा पुर्याउँदैन। फेरि पनि बादे बादे जायते तत्व बोध।’
एमालेमा भट्टराई र भुसाल १० बुँदे सहमति पक्षधर हुन्। यी दुईसहित १० जना नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग १० बुँदे सहमति गरेर एमालेमै रहेका थिए।
१० भाइमध्ये डा. भीम रावल र भुसाल नेतृत्वलाई चुनौती दिँदै विधि पद्धतीका लागि भन्दै आफ्नो धारणा राख्दै आएका छन्।
स्थानीय तहको निर्वाचनपछि एक अन्तर्वार्तामा भुसालले पार्टी नेतृत्वले गलत नीति लिँदा निर्वाचनमा एमालेले पराजय व्यहोर्नुपरेको भन्दै आलोचना गरेका थिए। ‘पार्टी विभाजन गलत थियो। त्यसमा दीपावली मनाउने कुरा पनि गलत थियो। दुईपटक संसद विघटन गलत थियो,’ भुसालले भनेका थिए।
महाधिवेशनमा अपनाइएको प्रक्रियाको पनि उनले आलोचना गरेका थिए। ओलीका पछिल्ला सबै प्रयोग असफल भएको यो निर्वाचनले पुष्टि गरेको उनको तर्क थियो।























