सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरको उम्मेदवार बन्नका लागि अहिले रस्साकस्सी चलिरहेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पनि मेयरमा उम्मेदवारी दिनेहरूको सूची लामो छ ।
त्यस मध्येका एक हुन् वीरेन्द्रनगरका अनिल ढकाल । युवाहरूबीच निकै लोकप्रिय उनी सामाजिक कार्यमा अग्रसर युवा हुन । उनले दुई महिना अघि नै स्वतन्त्र उम्मेदवारी उठ्ने घोषणा गरिसकेका छन् ।
यसका लागि उनले आवश्यक तयारी पनि थालेका छन् । तर ढकालकी आमा नेपाली काँग्रेसबाट मेयरका लागि सिफारिस भएकी छन् ।
शुक्रबार काँग्रेस वीरेन्द्रनगर कमिटीले मेयरका लागि ७ जनाको नाम सिफारिस गरेको छ । जसमा एक मात्र महिलाका रूपमा चाँदनी ढकाललाई सिफारिस गरिएको छ । ढकाल नेपाली काँग्रेसभित्र विगतदेखिनै सक्रिय रूपमा लागेकी नेतृ हुन् ।
ढकाल यसअघि विवेकशील साझा पार्टीमा आबद्ध थिए । उनी भन्छन्–‘मैले बुझेको राजनीति हिम्मत, त्याग र सेवा हो, गफ हैन काम हो । मैले त्याग गर्ने हिम्मत गरिसकेँ ।
स्थानीय तह स्वतन्त्र नै हुनु पर्दछ भनेर पार्टी त्याग गर्ने हिम्मत गरे । खर्चिलो जीवन शैली त्यागेर साधारण जीवनयापन रोजेको धेरै भयो ।’
उनले सामाजिक न्यायका लागि, स्थानीय सरकारलाई सेवक बनाउनका लागि, शिक्षालाई विकाससँग जोड्नका लागि, उद्यमशील समाज निर्माण, युवाहरूलाई अवसरको सिर्जना गर्नका लागि, सुशासन र भ्रष्टाचार मुक्त समाज निर्माणका लागि मेयर
लड्ने हिम्मत गरेको बताए । साथै उनले साथै वीरेन्द्रनगरको सामाजिक, आर्थिक र भौतिक विकासका लागि ‘वीरेन्द्रनगर विकास पत्र’ केही दिनमै सार्वजनिक गर्ने बताएका छन् ।
०७४ को चुनावमा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका देवकुमार सुवेदी र उपमेयरमा नेकपा एमालेकी मोहनमाया ढकाल विजय बनेका थिए ।























