हेटौंडा –
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन् । मंगलबार हेटौंडा पुगेर पूर्वअध्यक्ष थापाले भारी मन तथा
पी’डाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको बताएका हुन् । त्यसलगतै थापाले विज्ञप्ति मार्फत औपचारिक रुपमा पार्टीबाट अलग भएको जानकारी दिएका छन् ।
‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु’, पूर्वउपप्रधानमन्त्री थापाले विज्ञप्तिमा लेखेका छन्।
थापाले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी राजनीतिक जीवन पार्टीभित्रै बिताउने र रमाउने चाहना सफल नभएको उल्लेख गरेका छन्।
पार्टीमा आफ्नो कुराको सुनुवाइ नभएपछि अप्रिय निर्णय गर्न बाध्य भएको उनको भनाइ छ।
‘पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र
पार्टीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ’, अध्यक्ष थापाले भने ।
पार्टीबाट अलग भए पनि राप्रपाका साथीसँग आफ्नो वैरभाव नभएको उनले विज्ञप्तिमा प्रष्ट पारेका छन् ।
‘राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकबाट प्राप्त सहयोग, सद्भाव र स्नेहप्रति म सदैव आभारी रहने छु’, विज्ञप्तिमा थप भनिएको छ,
‘पार्टीमा रहँदा बिताएका क्षणप्रति म सदैव गौरव गरिरहने छु। राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन।’
पार्टी परित्याग गर्दै उनले सबैको भलोहोस् भन्ने कामनासमेत गरेका छन् । ‘सबैको भलोहोस् भन्ने कामना गर्दछु’, विज्ञप्तिको अन्तिममा लेखिएको छ।
























