काठमाडौं –
राजनीति सम्भावनाहरुको खेल बताउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि अर्को सम्भावना तिर लागेका छन् ।
उनले पार्टीको नाम फेर्ने प्रस्ताव ल्याउन लागेको खुलेको हो । लामो समयदेखि माओवाद हटाउने तयारीमा लागेका प्रचण्डले यसै महाधिवेशनमा त्यो प्रस्ताव ल्याउन लागेका हुन् ।
काठमाडौंमा आइतबारबाट सुरू भएको आठौं महाधिवेशनबाट पार्टीको नामबाट ‘माओवाद’ हटाउने उनको तयारी रहेको बुझिएको छ ।
सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादीलाई पूर्ववत अवास्थामा फर्काएपछि प्रचण्डले विभिन्न चरणमा माओवादी पार्टीको नाम परिवर्तन गर्ने परामर्श थालेका थिए ।
माओवादीकै एक नेताले बताएअनुसार प्रचण्डले नयाँ र सबैले मन पराउने नामका बारेमा आफूनिकट नेताहरूसँग छलफल थालिसकेका छन् ।
प्रचण्डले अबको गन्तब्य समाजवादतर्फ भएकाले समाजवादी आम बढी सुहाउने नेताहरूलाई सुनाउने गरेका छन् ।
‘नाम फेर्ने अध्यक्षको प्रस्तावमाथि पनि छलफल हुँदैछ,’ ति नेताले भने, ‘नयाँ नाम महाधिवेशनले अनुमोदन गर्छ । नाममा माओवादी भन्दा समाजवादी शब्द प्रयोग गर्ने विकल्पमा हामी कुराकानी गरिरहेका छौं ।’
माओवादीमा पार्टीको नामबाट माओवाद हटाउन निकै पहिलेदेखि छलफल चलिरहेको थियो । सर्वोच्च अदालतले तत्कालीन नेकपाको एकता भंग गरेर एमाले र माओवादी केन्द्र ब्युँताएपछि बसेको पहिलो केन्द्रीय कमिटीको बैठकमा पनि नामबारे छलफल भएको थियो ।
नामबाट माओवादलाई हटाएर ‘समाजवाद’ जोड्न सके अन्य कम्युनिस्ट पार्टीहरूसँग पनि एकता हुन सहज हुने प्रचण्डको बुझाई छ ।
माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग तत्काल सहकार्य र चुनावी तालमेल गरेर अघि बढ्ने प्रचण्डको रणनीति ।
उसो त नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले पनि आफ्नो नामबाट माओवाद हटाएको थियो । यतिबेला विप्लवसँग पनि एकताका लागि पहल
गर्न प्रचण्डले पार्टीका प्रवक्ता कृष्णबहादुर महरालाई खटाएका छन् । प्रचण्डले महाधिवेशन बन्द सत्रमा पेश हुने आफ्नो राजनीतिक दस्तावेजमा नाम फेर्ने प्रस्ताव राखेको स्रोतको दाबी छ ।
यो पनि : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीमा महत्वपूर्ण पदहरुमा लगभग टुङ्गो लागेको खबर छ । नेकपा माओवादी केन्द्रको महासचिव जनार्दन शर्मा बन्ने निश्चितजस्तै भएको छ।
आइतबारदेखि जारी माओवादी केन्द्रको महाधिवेशनबाट शर्मालाई महासचिव बनाउने मनस्थितिमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेको स्रोतको दाबी छ।
शर्माले आफू महासचिवको दाबेदार रहेको हामीसँगको कुराकानीमा समेत बताएका थिए। माओवादी केन्द्रले विधानमा १ वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षको प्रावधान गरेको छ।
अध्यक्षमा प्रचण्डलाई निरन्तरता दिने निश्चित नै छ। अध्यक्षपछिको शक्तिशाली पदमा शर्माको सम्भावना बलियो बन्दै गएको माओवादी केन्द्रका एक नेताले बताए।
महासचिवको प्रमुख दाबेदारको रूपमा स्थायी कमिटी सदस्य वर्षमान पुन र शर्मालाई हेरिएको छ। पुन स्वास्थ्य समस्याका कारण चीनमा छन्। गत असोजमा स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएका पुन मंसिरदेखि चीनमा छन्।
महाधिवेशनका लागि पुन फर्किन चाहेका थिए। तर चिकित्सकले नफर्किन भनेकोले उनी उतै बसेका हुन्। प्रचण्डले समेत उनलाई अहिले नफर्किन भनेका छन्। प्रचण्डले अहिले पदाधिकारीको टुंगो नलगाउने आश्वसन दिएको पुननिकट स्रोतको दाबी छ।
तर महाधिवेशनबाटै पदाधिकारीको टुंगो लगाउन प्रचण्डलाई दबाब परेको छ। माओवादीको विधान अनुसार महाधिवेशनले केन्द्रीय कमिटी बनाउँछ भने केन्द्रीय कमिटीले पदाधिकारीको टुंगो लगाउँछ।
महाधिवेशनबाटै महासचिवको टुंगो लगाउने अवस्थामा शर्माकै पल्ला भारी हुने माओवादीका एक नेताले दाबी गरे। ुअहिले महासचिवको बलियो उम्मेदवार पुन र शर्मानै हुन्। तर पुन चीनमै रहेकोले शर्मालाई रोक्न कठिन छ,ुती नेताले भने,ुपुन नभएको अवस्थामा निर्वाचन नै भयो भने पनि शर्माले जित्ने निश्चित छ। अर्कोतिर पुनको अनुपस्थितिमा शर्मा नै प्रचण्डको रोजाइमा पर्छन्।ु
स्थायी कमिटी सदस्य पम्फा भुसालले पनि महासचिवमा दाबी गरेकी छन्। हामीसँग कुराकानी गर्दै उनले अध्यक्षपछिको शक्तिशाली पदका लागि आफू योग्य रहेको बताएकी छन्।
पछिल्लो समय प्रचण्डले भुसाललाई धेरै नै विश्वास गर्ने गरेका छन्। नेकपाकालीन अवस्थामा तत्कालीन सचिवालय सदस्य रामबहादुर थापाले केपी ओली रोज्दा भुसालले प्रचण्डलाई बलियो साथ दिएकी थिइन्।
थापानिकट धेरै नेतालाई उनले नै रोकेकी थिइन्। अर्कोतिर महिला भएकोले समेत प्रचण्डले भुसाललाई अघि बढाउन सक्ने सम्भावना रहेको माओवादी केन्द्रका अर्का एक नेताको दाबी छ।
सँगै प्रचण्डले आफ्नो विरासत थाम्न सक्ने नेताको खोजी गरिरहेका छन्। उनले त्यो क्षमता पुन र शर्मासँग देखेका छ। पुनको स्वास्थ्यका कारणले प्रचण्डले शर्मालाई अघि बढाउन चाहेको स्रोतको दाबी छ। पुननिकट एक नेताले समेत शर्माको सम्भावना बलियो भएको दाबी गरे।
माओवादीमा पुन र शर्माभन्दा वरिष्ठ धेरै नेता छन्। त्यसैले पुनलाई समेत उपाध्यक्षमा व्यवस्थापन गर्न सक्ने गरी प्रचण्डले एक वरिष्ठसहित ७ उपाध्यक्षको प्रावधान राखेका हुन्।
वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ हुनेमा माओवादी केन्द्रमा कुनै विवाद हुँदैन। त्यसपछिका ६ उपाध्यक्षमा कृष्णबहादुर महरा, वर्षमान पुन, पम्फा भुसाल, मात्रिका यादव, गिरिराजमणि पोखरेल, देव गुरूङ, हरिबोल गजुरेल लगायतको सम्भावना छ।























