काठमाडौं –
पार्टीको मूल नेतृत्व ढोंगी भएको भन्दै विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् ।
रञ्जुले बिहीबार वक्तव्य जारी गर्दै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गरेकी हुन् ।
अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति रुपमा सक्रिय रहने उनले बताएकी छन् ।
‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्य समेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु’, दर्शनाले भनेकी छन्,
‘पुस ८ गतेबाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहनेछु ।’
सके राजनीतिमा फोहोर सफा गर्छ, नसके फोहोर गर्दिनँ भनेर राजनीतिमा लागेको भन्दै उनले भनेकी छन्, ‘अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक
राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ । जुन मैले सफा गर्ने कोशिस पनि गरें तर पूर्णरुपले सफा गर्न असमर्थ रहें । तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा बसेर थप फोहोर बढाउन सक्दिनँ ।’
उनले आफ्नो वक्तव्यमा विवेकशील साझा पार्टीभन्दा माथि देश हुने पनि बताएकी छन् । उनले पार्टीको जग असली हालेको भएपनि तला थप्ने क्रममा कमसल बन्न पुगेको टिप्पणी पनि गरेकी छन् ।
पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संवैधानिक राजतन्त्रको वकालत गर्ने गरी ‘विचारभन्दा माथि देश’को एजेण्डा पार्टीमा लागु गराएपछि साझा विवेकशीलमा विवाद देखिएको हो ।
विवेकशील साझा पार्टीको सचिवालय सदस्य पदमा रहेकी दर्शनाले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेखेर पनि पार्टी परित्याग गरेको जानकारी दिएकी छन् ।
उनले सो पत्रमा राजनीतिक यात्राको मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा ‘अधिकतम ढोंग’ पाएको उल्लेख गरेकी छन् ।
‘वि.सं. २०७० बाट सुरु भएको राजनीतिक यात्रामा कैयौं उताव-चढावहरु आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग (hypocrisy) पाएँ,’ उनले पत्रमा लेखेकी छन् ।
दर्शना तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य हुन् । उनी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवारसमेत बनेकी थिइन् । निर्वाचनमा उनी तेस्रो स्थानमा रहिन् ।
रञ्जु दर्शानाले निकालेको विज्ञप्ति हेर्नुहोस :

























