काठमाडौँ –
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा पाहुना नबोलाउने भएको छ ।
यही पुस ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा हुने लागेको सम्मेलमा अन्य दलहरुलाई नबोलाउने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
आयोजकबाट १७९, सल्लाहकार समूहबाट १४९, जेष्ठ कम्युनिस्टबाट १२५, केन्द्रीय आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधिहरुबाट ८०३ र मनोनित ७३ जना गरी कूल १५३३ जना प्रतिनिधि सहभागी हुने प्रवक्ता महराले जानकारी दिए ।
प्रदेशहरुबाट ८ सय र अन्य विभिन्न कमिटीहरुबाट प्रतिनिधि छानिने प्रवक्ता महराले बुधबार पत्रकार सम्मेलनमा बताए । महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरु चयन भइसकेको उनले जानकारी दिए ।
यस्तै, फरक प्रसंगमा एमसीसीको बारेमा पार्टीको स्पष्ट धारणा रहेको पनि उनले बताए । माओवादीले एमसीसी यथास्थितीमा पारित गर्ने पक्षमा नरहेको पनि उनले बताए ।
यो पनि : वाग्मती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशसभाको वैठक अवरुद्ध गरेको छ ।
एमाले आफू सरकारमा रहँदा सुरु गरिएको गौरवको आयोजना कटौती फिर्ता हुनुपर्ने र मन्त्रालय विभाजनको विषय सदनमा स्पष्ट रुपमा जवाफ दिनुपर्ने माग गर्दै सदन अवरुद्ध गरेको हो ।
बुधबार दिउँसो १ बजेका लागि आव्हान गरिएको प्रदेशसभाको बैठकमा एमालेले राजेन्द्र पाण्डे नेतृत्वको सरकारले पछिल्लो समय गरेको गलत
कामको जवाफ दिनुपर्ने भन्दै कार्यव्यवस्था परामर्श समितिको बैठकमा अडान राखेसँगै प्रदेशसभाको वैठक दुईघण्टा ढिला गरी बसेको थियो ।
बैठकको सुरुवातमै पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले विशेष समय लिएर बोलेका थिए । आफ्नो नेतृत्वको सरकारले ल्याएको बजेट पूर्णरुपमा कार्यान्वयन हुनुपर्ने,
गौरवको आयोजना कटौती फिर्ता लिनुपर्ने तथा मन्त्रालय विभाजनको विषयको मुख्यमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरेका थिए ।
पौडेलले बोले लगत्तै एमाले सांसदहरूले सदनमा उठेर अवरोध सिर्जना गरेका थिए । उनीहरूको अवरोधसँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको वैठक पुस ८ गते बिहीबार विहान ११ बजेसम्मका लागि स्थगित गरेका थिए ।























