काठमाडौं –
नेपाली कांग्रेसका नेता गगन थापाले विगतमा पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर सभापतिमा उम्मेदवारी दिएका नेताहरुले पुरानै नेतृत्वलाई समर्थन गर्नुको कारण पार्टी कार्यकर्तालाई बताउनुपर्ने बताएका छन् ।
मंगलबार मतदानस्थल राष्ट्रिय सभागृहबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले अघिल्लो दिनसम्म नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेहरु भोलिपल्ट नेतृत्व परिवर्तन रोक्न लागेको टिप्पणी गरे ।
‘हिजो नेतृत्व परिवर्तन गर्न सबै कुरा गर्छु भन्नेहरु आज चाहिँ नेतृत्व परिवर्तन रोक्न सबैथोक गर्नुभयो, यो विषयमा पार्टीका कार्यकर्तालाई उहाँहरुले जवाफ दिनुपर्छ’ उनले भने ।
सभापतिमा उम्मेदवारी दिएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेकोप्रति टिप्पणी गर्दै थापाले नेतृत्व परिवर्तनमा किन साथ नदिएको भन्ने प्रश्नले उनीहरुलाई लखेट्ने बताए ।
नेता थापाले सभापतिका तीन उम्मेदवारले साथ दिँदा पनि देउवामा चुनाव जित्छु भन्ने आत्मविश्वास नदेखिएको टिप्पणी गरे ।
‘तीन जनाले समर्थन गरेपछि उहाँ एक हजार मतले अगाडि हुनुहुन्थ्यो, तैपनि उहाँमा आत्मविश्वास देखिएन, दिनभरि उभिएर मतदातालाई नमस्कार गर्नुभयो’ उनले भने ।
यो पनि : देउवालाई समर्थन गरेका सिंह र निधि रुने दिन आउँछ – देवेन्द्रराज पाण्डे
नागरिक अगुवा देवेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा नेताद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधिले खेलेको भूमिकाप्रति रोष प्रकट गरेका छन् ।
कांग्रेसको सभापति पदका लागि दोस्रोपटक चुनाव गर्नुपर्ने भएपछि पहिलो चुनावमा प्रत्याशी रहेका सिंह र निधि दुवैले प्रधानमन्त्री शेरबहादुर देउवालार्ई समर्थन गरेका छन्।
पहिलो चरणको चुनावमा देउवाले प्रथम स्थान हासिल गरे पनि ८१ मत अपुग हुँदा ५१ प्रतिशत पुगेन। कांग्रेसको विधानअनुसार कूल मतको ५० प्रतिशत कटेन भने पुनः चुनाव गर्नुपर्ने भएकाले अहिले दोस्रो चरणको मतदान जारी छ।
यहीबीच नागरिक अगुवा पाण्डेले देउवालाई सहयोग गरेका नेताद्वय सिंह र निधिविरुद्ध कटाक्ष गरेका हुन्। उनले यी दुई नेताले केही महिनापछि देउवाले दिन्छु भनेको पद दिएनन् भनेर रुनुपर्ने दिन आउने दाबी गरेका छन्।
‘केही महिनापछि प्रकाशमानले ‘देउवाजीले मलाई यो पद दिन्छु भनेर दिनुभएको वाचा तोड्नुभयो’ भनेर गर्ने रोदन पनि हाम्ले सुन्नु÷हेर्नुपर्नेहोला। त्यस्तै विमलेन्द्र निधिको हकमा पनि’, पाण्डेले मंगलबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्।























