काठमाण्डाै –
नेकपा एमालेले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेकाे छ । भक्तपुरमा बसिरहेकाे केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गर्नुभएकाे हाे ।
अध्यक्ष ओलीले १९ जना पदाधिकारीसहित ४५ जनाको नाम स्थायी कमिटीका लागि प्रस्ताव गर्नुभएकाे हाे ।
प्रस्ताव गरिएकाे स्थायी कमिटी सदस्यमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, प्रभु शाहलगायतकाे नाम छ । यसमा असन्तुष्ट पक्षका भीम रावलकाे नाम भने छैन ।
स्थायी कमिटी सदस्यमा प्रस्ताव गरिएका नेताहरूकाे नाम यस्ताे छ –
केपी शर्मा ओली
ईश्वर पोखरेल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
रामबहादुर थापा
विष्णु पौडेल
सुरेन्द्र पाण्डे
सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
पृथ्वी सुब्बा गुरुङ
प्रदीप ज्ञवाली
विष्णुप्रसाद रिमाल
गोकर्ण विष्ट
छविलाल विश्वकर्मा
टोपबहादुर रायमाझी
पद्मा अर्याल
योगेश भट्टराई
रघुवीर महासेठ
लेखराज भट्ट
घनश्याम भुसाल
गुरु बराल
देवराज घिमिरे
भीम आचार्य
लालबाबु पण्डित
खगराज अधिकारी
किरण गुरुङ
काशीनाथ अधिकारी
रघुजी पन्त
भानुभक्त ढकाल
मणिचन्द्र थापा
शेरधन राई
कृष्णगोपाल श्रेष्ठ
यमलाल कँडेल
अग्नि खरेल
प्रभू साह
डा राजन भट्टराई
सीता पौडेल
विन्दा पाण्डे
गोरखबहादुर बोगटी
कर्णबहादुर थापा
राजेन्द्र गौतम
थममाया थापा
शेरबहादुर तामाङ
शिवमाया तुम्बाहाङ्फे
हिक्मत कार्की
यो पनि : अध्यक्ष केपी शर्मा ओलीले ‘बिनामापदण्ड’ राखेको प्रस्तावमा केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन र कार्यविभाजन गरिएको भन्दै एमाले नेताहरू असन्तुष्ट बनेका छन् ।
पार्टीको दसौं महाधिवेशनमा ओलीसँग पराजित भएका नेता भीम रावलले पनि पार्टीमा गुटबन्दी बढेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।रावलले सामाजिक सञ्जालमार्फत केपी ओलीको अगुवाइमा पार्टीभित्र लामो समयदेखि चल्दै गुटबन्दीले छलाङ मारेको बताएका छन् ।
रावलले ट्विटरमा लेखेका छन्, ‘एमालेमा भरखरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो। यो देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहं तुष्टिको नमुना हो । यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ।’
रावलले अध्यक्षमा उम्मेदवारी दिए पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिएनन् । उनले पार्टीको कुनै पनि विभागको जिम्मेवारीमा नरहने बताएका थिए । अध्यक्ष ओलीले पदाधिकारीमा पराजित भीम आचार्य र घनश्याम भुसाललाई स्थायी कमिटीमा राख्न प्रस्ताव गरेका छन् ।
४४ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्दा तथा ९९ सदस्यीय पोलिटब्युरो र ४५ सदस्यीय स्थायी कमिटी बनाउँदा छलफल नगरिएको भनी ओलीनिकट नेताहरूले समेत गुनासो गरेका छन् ।
भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले नाम प्रस्ताव गरेलगत्तै उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीका साथै उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मापदण्डबिनै नाम आएको भन्दै विरोध जनाएका थिए ।
‘कम्तीमा १९ पदाधिकारीबीच छलफल गरेर मापदण्ड बनाउनुपर्थ्यो । त्यसो गर्दा सबैले चित्त बुझाउने ठाउँ हुन्थ्यो । पार्टीलाई सामूहिक नेतृत्वमा चलाउनुपर्छ,’ बैठकमा ज्ञवालीले भनेका थिए ।
उपाध्यक्ष शाक्यले अध्यक्षको प्रस्तावले पार्टीमा न्याय नभएको भन्दै असन्तुष्टि जनाएकी थिइन् । ‘महत्त्वपूर्ण कमिटी गठन र केन्द्रीय सदस्यको मनोनयनमा अध्यक्षले सल्लाह गरेको भए सजिलो हुन्थ्यो ।
यसअघि छलफल र सल्लाह भएन । मूल्यांकनको परिपाटी हिजो थियो । आज त्यसलाई नजरअन्दाज गरियो,’ शाक्यको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।
अध्यक्ष ओलीले व्यक्तिगत निर्णय लिएको भन्दै उपमहासचिव गुरुङले असन्तुष्टि जनाएका थिए । मापदण्ड नबनाई व्यक्तिगत निर्णय गर्दा वरिष्ठ नेताहरूसमेत पोलिटब्युरोमा छुटेको उनको भनाइ थियो ।
‘विधिसम्मत तरिकाले छलफलबाट सबै टुंग्याउनुपर्थ्यो । व्यक्तिगत निर्णय लिनु गलत हुन्छ । पार्टीलाई सामूहिक निर्णय प्रणालीमा लैजानुपर्छ,’ गुरुङले भनेका थिए ।
केन्द्रीय सदस्यको मनोनयन र पोलिटब्युरो गठनमा उपाध्यक्ष सुवास नेम्वाङ, सचिव गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी कमिटी सदस्य घनश्याम भुसालले पनि असन्तुष्टि राखेका थिए ।
नेम्वाङले इलामबाट मणि लिम्बूलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुपर्ने बताएका थिए । भुसालले अन्यायपूर्ण र अपमानपूर्ण प्रस्ताव आएको टिप्पणी गरे ।























