वीरेन्द्रनगर –
नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले विगत २५ वर्षदेखि देश माओवादीका एजेन्डामा चलिरहेको बताएका छन् ।
तर, माओवादीका एजेण्डाहरु अरुले लिन थालिसक्दा पनि माओवादीहरू टुलुटुलु हेर्नूले माओवादीहरू कमजोर हुँदै गएको दाबी उनले गरे ।
शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा माओवादी केन्द्रको प्रथम अधिवेशनमा बोल्दै मन्त्री शर्माले भने, ‘हाम्रा एजेन्डा लागू हुँदै जाने हामी कमजोर हुँदै जानुको पछाडि हाम्रा विचारको अस्पष्टताको समस्या र कमीहरु छन् । त्यसैले स्पष्ट भएर अघि बढ्नुपर्ने आजको आवश्यकता हो ।’
मन्त्री शर्माले यसअघिका उपलब्धिहरूको समीक्षा नगरेको खण्डमा प्रतिगामी तत्वहरुले माओवादीलाई कमजोर पार्न सक्ने समेत बताए । ‘आज पनि खुलेआम राजतन्त्र ल्याउनुपर्छ भनिरहेका छन्,’
उनले भने, ‘के नेपाली जनताले राजतन्त्र ल्याउन दिन्छ ? के माओवादी पार्टीले राजतन्त्र आउन दिन्छ । अहँ ! कदापि यो सम्भव छैन् । तर, पनि भ्र’म दिनेहरु दिइरहेका छन् । त्यसका वि’रु’द्ध हामीले ल’ड्नुपर्छ । संविधानको रक्षाका लागि अघि बढ्नुपर्ने कुरा मुख्य हो ।’
नेता शर्माले अब नयाँ एजेण्डा र विचारको साथमा माओवादी पार्टी अघि बढ्नुपर्ने बेला आएको पनि कार्यकर्तालाई स्मरण गराए ।
उनले अगाडि भने, ‘अबको ५० वर्ष पनि यो देश माओवादीले नै अघि सारेका एजेन्डामा चल्नुपर्छ । त्यसका लागि हामीले आफ्ना नयाँ खालका एजेन्डाहरू तय गर्न आवश्यक छ । अब पार्टीभित्र नयाँ ढाँचाको आवश्यक छ ।’
अबको यात्रा समाजवादको यात्रा रहेको उल्लेख गर्दै उनले समाजमा रहेका सबैखाले वर्गको उपस्थिति हुने खालको पार्टी नेतृत्व आवश्यक रहेको बताए ।
उनले भने, ‘अब समाजवादका अभियन्ता भनेर हामी अघि बढ्नैपर्छ । सहिदहरुको बलिदानीलाई आत्मसात गर्दै उनीहरुका परिवारले गर्व गर्ने खालको पार्टी निर्माणमा सबै जुट्नुपर्छ ।’
शनिबारदेखि सुरु भएको माओवादी केन्द्रको प्रथम अधिवेशन आइतबार बेलुकी सम्म चल्नेछ । प्रथम अधिवेशनले २ सय ११ सदस्यीय नयाँ कार्यसमिति छनोट गर्नेछ भने
आइतबार बिहानदेखि सुरु हुने बन्द सत्रका लागि पाँच सदस्यीय अध्यक्ष मण्डल चयन गरिएको छ । जसमा वर्तमान पार्टी सचिव रामदिप आचार्य, विन्दमान विष्ट, विमला केसी, विष्णु विक र कार्चेन लामा रहेका छन् ।
बन्दसत्रमै पार्टीका अध्यक्ष राजकुमार शर्माले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य झकबहादुर मल्ल (सुदिप)ले जानकारी दिए ।
पार्टी अध्यक्षको दौडमा निवर्तमान मुख्यमन्त्री तथा प्रदेश सह–इञ्चार्ज महेन्द्रबहादुर शाही, पूर्वमन्त्री विमला केसी र वर्तमान अध्यक्ष राजकुमार शर्मा रहेका छन् । अधिवेशनमा कर्णाली प्रदेशका १२ सय प्रतिनिधिहरू सहभागी छन् ।























