काठमाडौँ –
राष्ट्रिय प्रजातन्त्रक पार्टी (राप्रपा)को अध्यक्ष कमल थापाले आउँदो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टी एकीकरणपछि राप्रपाको पहिलो महाधिवेशन मंसिर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ ।
दुई वर्षअघि राप्रपा र राप्रपा संयुक्त एकीकरण भएपछि थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीले अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।
महाधिवेशनमा राजेन्द्र लिङ्देनले पनि अध्यक्षको उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । पार्टीको अवस्था सबैभन्दा कमजोर बनाएको भन्दै यसलाई राष्ट्रिय पार्टी बनाउनले उनले उद्घोष गरेका छन् ।
आफूले सुरु गरेको काम अधुरै भएकोले पूरा गर्न अध्यक्षमा उम्मेदवारी दिएको थापाले बताए । ‘महाधिवेशनपछि पार्टी फुट्ने श्रृंखला दोहोरिन नदिन धेरै काम गर्नु छ,’ उनले भने ।
आफूलाई अध्यक्ष बनाउन पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेताहरु पशुपति शम्सेर जबरा, प्रकाशचन्द्र लोहनीको पनि साथ रहेको उनले दाबी गरे ।
राप्रपालाई अग्रणी शक्तिको रुपमा स्थापित गर्ने, सम्बर्द्धनबाट वैचारिक धार बनाउन बाँकी रहेकोले अध्यक्ष बन्न लागेको उनले बताए । ‘यो अभियारा पूरा गर्ने मेरो प्रयास हुनेछ ।
आर्यघाटमा नपुगेसम्म पद नछोड्ने मेरो मानसिकता छैन । निजी काम र घुम्न बाँकी छ । शारिरीक रुपमा सक्षम हुँदा नै निजी काम गर्नु छ,’उनले भने,‘मैले विश्राम लिनु भन्ने मलाई थाहा छ ।
आगामी निर्वाचनपछि अग्रणी संस्थाको रुपमा स्थापित गरेपछि वैचारिक धार बलियो भएपछि, हिन्दुराष्ट्रको आधार तयार भएपछि विश्राम लिन्छु ।’ राजेन्द्र लिङ्देन र धवलशम्शेर राणाले नेतृत्व लिन खोज्नु स्वागतयोग्य भएको उनले बताए ।
‘आफ्ना भाइ छोराले म परिवारको जिम्मेवारी लिन्छु भन्दा नकारात्मक लिनु हुँदैन । चार वर्ष धैर्य गर्नुस् द:ख गर्ने काम हामीलाई छाड्दिनुस्,’ उनले भने । युवा पुस्ता भन्दै उम्मेदवारी घोषणा गरेकोमा भने उनले आपत्ति जनाए ।
‘युवा उमेर गनेर अध्यक्ष हुने हो भने आउनुस् टुडिखेलमा दौडौं । दौडदा मलाई जित्नु भयो भने म अध्यक्षको उम्मेद्वार हुन्न, ’ उनले भने, ‘नयाँ जिम्मेवारी लिन्छु भन्नेले अग्रजलाई गाली गरेर, बदनाम गरेर, असफल भनेर नेतृत्व लिनु सम्भव छैन ।
एकाध पटक चुनाव जित्दैमा लोकप्रिय भइदैन । बुद्धमान तामाङ, पशुपति शम्शेरले धेरै पटक जित्नु भएकै हो । पुरानो नेतालाई जनताले पत्याउदैन मलाई पत्याउ पर्छ भन्ने हो भने पार्टी एकता हुँदैन । ’























