चितवन –
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको झण्डा बोक्ने कोही नभएर गैंडालाई बोकाएको टिप्पणी गरेका छन् ।
शुक्रबार चितवनमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेले १० औं महाधिवेशनको प्रचारप्रसारमा मजदुर, किसानले बोक्नुपर्ने पार्टीको झण्डा कोही नभएपछि जंगली जनावरलाई बोकाएको ब्यड्ग्य गरे ।
उनले एमाले पतन हुने निश्चित भएको भन्दै त्यसको सुरुवात विभिन्न जिल्लामा एमाले छाडेर समाजवादीमाप्रवेश गर्ने लहर चलेको पनि दावी गरे ।
पाँच दलीय गठबन्धन बलियो भएको र आगामी राष्ट्रिय सभाको निर्वाचनमा केपी ओलीको पार्टीविरु’द्ध एकताबद्ध भएर जाने पनि अध्यक्ष नेपालले बताए ।
यस्तै नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेलले उम्मेदवारी दिने उनी निकटस्थहरूले प्रचार थालेका छन् । बालकोट पुगेर अध्यक्ष केपी शर्मा ओलीलाई निरन्तर भेटिरहेका स्थायी कमिटी सदस्य पोखरेल स्वयमले भने यसबारे मुख खोलेका छैनन् ।
सामाजिक सञ्जालमा पोखरेलको प्रचार देखेपछि उपमहासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे निकट नेताहरूले पनि प्रचार थालेका छन् । चितवनमा हुने १०औं महाधिवेशनमा यी तीनै नेताले महासचिव पदको आकांक्षा राखेका छन् ।
तर पौडेल, पाण्डे र पोखरेलको कुन पदमा उम्मेदवारी रहन्छ भन्ने औपचारिक घोषणा हुन सकेको छैन । महाधिवेशन केही दिन मात्रै बाँकी रहेपनि महासचिव पदमा मात्रै नभएर अन्य पदका आकांक्षीहरू पनि अलमलमा देखिन्छन् ।
एमालेका एक स्थायी कमिटी सदस्यका अनुसार, आकांक्षी नेताहरुले अहिलेसम्म आफ्नो उम्मेदवारी घोषण नगर्नुको प्रमुख कारण अध्यक्ष ओलीको संकेतको पर्खाइ हो । ‘केपी ओलीले संकेत दिएपछि मात्रै उम्मेदवारी सार्वजनिक गर्ने भन्नेमा नेताहरु देखिन्छन्’, ती नेता भन्छन् ।
कतिसम्म भने एमाले नेताहरू अध्यक्ष ओलीको निर्णय बिनाको उम्मेदवारीले अर्थ नलग्ने बुझेकाले पनि मौन देखिन्छन् । ‘अध्यक्षज्यूले अहिले सबैको नाडी छामिरहनुभएको छ ।
कसको खुबी कति रैछ त भनेर हेरिरहनुभएको छ,’ ओली सचिवालयका एक सदस्यले भने, ‘पदाधिकारीका लागि तयारी गरिरहनु भएका नेताहरु पनि दिनदिनै भेट्न त आउनुहुन्छ, तर आफू कुन पदको आकांक्षी हो भनेर भन्न सकिरहनुभएको छैन ।’
तर १० बुँदे सहमति गरी एमालेमै रहेका र माओवादी पृष्ठभूमिका नेताहरुले भने फाट्टफुट्ट चाहना सार्वजनिक गर्न थालेका छन् । यद्यपि ओलीले ती नेताहरुलाई पनि ठोस् जवाफ दिन सकेका छैनन् ।
भावी नेतृत्वबारे नेताहरूको मौनताले पार्टीभित्र आँँधी अघिको सन्नाटा देखिएको सचिव पृथ्वीसुब्बा गुरुङ बताउँछन् । ‘अरु विषयमा महाधिवेशन लागेको छ, तर उमेदवारीको कुरामा महाधिवेशन लागेको छैन,’ गुरुङ भन्छन्, ‘पार्टीलाई एकजुट बनाएर बढ्न धेरैतिरबाट समेट्नुपर्ने हुन्छ ।
सकेसम्म सर्वसम्मतिमा नेतृत्व छानौँ भन्ने सोच छ ।’ अध्यक्ष ओलीले सर्वसहमतिबाट नेतृत्व चयन गर्नकै लागि सोचिरहेको हुनसक्ने उनी बताउँछन् । स्रोतका अनुसार, स्वयम् गुरुङ पनि आफ्नो उम्मेदवारीबारे कुरा राख्न बालकोट पुगेका थिए । तर अध्यक्ष ओलीले ठोस् जवफ दिएनन् ।
आफूलाई भेट्न आउने नेताहरुलाई प्रष्ट जवाफ नदिने गरेपछि अलमलको अवस्था देखिएको पदाधिकारीका आकांक्षी नेताहरू बताउँछन् । गुरुङलाई जस्तै स्थायी कमिटी सदस्य रघुजी पन्तलाई पनि ओलीले कुनै ठोस् दिएनन् । पन्तले भने ओलीलाई भेटेर उपाध्यक्ष पदमा उम्मेदवारी दिने चाहना राखेका थिए ।
‘अध्यक्षको मुख ताकेकोजस्तो भएको छ । परिस्थिति पनि त्यस्तै छ,’ पन्त भन्छन्, ‘तपार्इंले कति समेट्नुहुन्छ र कसरी पार्टीलाई अघि लैजानुहुन्छ, हेर्छाैं भनेका छौं । उहाँले सुन्नुभएको छ, त्यस्तो केही भन्नुभएको छैन ।’ सबैलाई समेटेर पार्टी एकढिक्का बनाउन ओली ‘पर्ख र हेर’को मनस्थितिमा रहेको हुनसक्ने पन्त बताउँछन् ।
आफ्नै उम्मेदवारीबारे प्रष्ट नभए पनि एमाले नेताहरुले यसपटक प्यानल नबन्ने दावी गरिरहेका छन् । नवौं महाधिवेशनमा प्रष्ट दुई प्यानलमार्फत् नेतृत्व चयन भएको थियो ।
यसपटक सहमतिमा पदाधिकारीको चयन गर्ने, नभए पनि एक्लाएक्लै प्रतिष्पर्धा नेताहरुको भनाइ छ । अधिकाशं प्रतिनिधि निर्विरोध चयन हुनुलाई १०औं महाधिवेशनमा प्यानल नबन्ने संकेतका रुपमा बुझ्नुपर्ने उनीहरुको तर्क छ ।
यद्यपि प्रतिनिधि छनोट एक्लौटी भएको असन्तुष्टि भने नेताहरुमा देखिएको छ । ‘प्रतिनिधि छनोट एकलौटी देखिएको छ । त्यसको प्रभाव माथि पनि प¥यो भने एमाले मिलाउने कुरामा सम्भव देखिन्न,’ स्थायी कमिटी सदस्य पन्त भन्छन्, ‘धेरै कुरा अध्यक्षको भूमिकामा भर पर्छ । उहाँले राम्ररी समेट्नुभयो भने राम्रै हुन्छ ।’
यसअघि एमालेमा उम्मेदवारीबारे सघन छलफल र तयारी हुने गरेको थियो । तर पार्टी विभाजनसँगै एउटा समूह एमालेबाट अलग भएकाले ओलीको तजबीजमा चल्ने परिस्थिति निर्माण भएको छ । बालकोट पुग्ने नेताहरू ओलीलाई बिच्काउने गरी कुरा राख्न नसक्नुको कारण प्रतिश्पर्धाको अवस्था नरहनु नै हो ।
‘अध्यक्षको आर्शिवाद पाइएन भने जितिन्न भन्ने मानसिकता छ । त्यसैले उहाँले के भन्नुहुन्छ भनेर साथीहरु बालकोट धाएको धायै छन्’ ओली निकट एक पदाधिकारी भन्छन्, ‘मैले पनि उहाँलाई धेरैपटक भेटिसकेँ । तिमी यही पोष्टमा उठ भन्नुभएको छैन ।’
अध्यक्ष ओलीले भने पार्टी बैठकहरू र असोज दोस्रो साता सम्पन्न विधान महाधिवेशनमा नेतृत्व सर्वसम्मत र सहमतिका आधारमा चयन हुने बताउँदै आएका छन् । ओलीले माओवादी केन्द्रबाट आएका र १० बुँदे समझारी गरी एमालेमै बसेका नेताहरुलाई समेट्न पनि सर्वसम्मतिको कार्ड फाल्ने गरेका छन् ।
तर विधान महाधिवेशन यता आन्तरिक शक्ति समीकरण कसरी मिलाउने भन्ने ठोस् प्रस्ताव अगाडि सारेका छैनन् । बरु आफ्नै समूहका नेताहरुको व्यवस्थापन ओलीका निम्ति चुनौती देखिएको छ ।
सीमित पदमा सवै आकांक्षी समेट्न सजिलो समेत छैन । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य अहिले विशेष परिस्थिति भएकाले सबैको मन राख्ने गरी निर्णय लिनुपर्ने जिम्मेवारी अध्यक्ष ओलीसँग रहेको बताउँछिन् ।























