काठमाडौं – नेकपा एकीकृत समाजवादीले पार्टीमा आउन चाहिरहेका विभिन्न राजनीतिक समूह र व्यक्तिहरूसँग वार्ता गर्न टोली गठन गरेको छ ।
स्रोतका अनुसार माधव नेपाल नेतृत्वको सो पार्टीले मुख्य निशाना नेकपा एमालेलाई बनाएको र एमालेका प्रभावशाली नेताहरुलाई तान्ने उसको रणनीति रहेको बुझिएको छ ।
बुधबार बसेको सचिवालय बैठकले महासचिव बेदुराम भुसाल नेतृत्वमा वार्ता टोली गठन गरेको हो । महासचिव भुसालको नेतृत्वमा उपमहासचिव गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य रहेका छन् ।
उक्त वार्ता टोलीले वार्तासम्बन्धी प्रस्ताव तयार गरी सचिवालयमा पेस गर्नेछ । यता नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पाँच दलीय गठबन्धन अझ बलियो हुने बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी) मध्यपुरथिमि नगर संगठन कमिटीले आज मध्यपुर थिमिस्थित बालकुमारीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन नसक्ने बताए ।
अध्यक्ष नेपालले संघीय संसदको चुनाव संविधानले निर्धारण गरेका मितिमा हुने जनाउँदै भने,कोही भ्रममा नपरे हुन्छ, अर्लि इलेक्सन हुँदैन, छिट्टै चुनाव हुनेवाला छैन, संघीय संसदको चुनाव आफ्नै समयमा हुनेछ, आगामी चैतमा स्थानीय तहको चुनाव हुनेछ, अब केही समयमा राष्ट्रिय सभाको चुनाव हुन्छ, रिक्त स्थानमा संघीय उपनिर्वाचन पनि अब हुन्छ ।’
उनले एमालेमा रहेका पार्टी कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आह्वान गर्दै उनीहरूलाई जतिखेर आए पनि आफ्नो पार्टीमा ढोका खुला रहेको बताए ।
अध्यक्ष नेपालले भने, ‘एमालेमा बसेर पछुताइरहनुभएको, तपाईंहरूले त्यहाँ हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो, अब त फर्केर आए पनि हुन्छ, त्यहाँ अपमान, निन्दा, पीडा सहेर किन बसेको, एमालेमा पछुताउँदै बस्नु पर्दैन, अझै केही बिग्रिएको छैन, आउनुस् १० नेतालाई हाम्रो पार्टीमा ढोका खुला छ, स्वागत छ ।’
अध्यक्ष नेपालले आफूहरूसँग कसैले टक्कर लिन्छ भने त्यो टुक्रा–टुक्रा हुन्छ भन्दै अहं’कार अब धेरै दिन नटिक्ने बताए । उनले भने, ‘देशव्यापीपमा आफ्नो पार्टीमा आउनेको लहर बढेको छ । निर्वाचनको मैदानमा हामी जित्नेछौं, टक्कर लिनेहरूको हालत खत्तम बनाउने छौं ।’
यस्तै अर्थमन्त्री जनार्दन शर्माले आफूसँग भएका स्रोत साधनहरूको उचित व्यवस्थापन तथा परिचालन गर्न नसक्दा मुलुकले गरिबी व्यहोर्नु परिरहेको बताएका छन् ।
बिहीबार नेकपा (माओवादी केन्द्र) कागेश्वरी मनोहरा नगर समितिद्वारा आयोजित नेपाल सम्वत्, तिहारलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री शर्माले गरिबीको अवस्थाबाट मुक्त हुन सरकारमा बस्नेहरूले जनताको शासक नभई सेवकका रूपमा रहेर काम गर्नुपर्ने बताए ।
‘पेट्रोलदेखि अरू सबै कुरा नेपालमै छ । तर त्यसको उचित प्रयोग, सञ्चालन, व्यवस्थापन गर्ने कमी कमजोरी र सत्तामा रहेकाहरूले त्यसतर्फ ध्यान नदिँदा आज समाजले गरिबीको अवस्था व्यहोरिरहेको अवस्था छ’, उनले भने, ‘यो गरिबीको अवस्थाबाट मुक्त हुनका लागि अब सरकारमा बस्नेहरू जनताको शासकका रूपमा होइन, सेवकको रूपमा रहनुपर्छ ।’
यसैगरी मन्त्री शर्माले मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले नीति बनाएर मात्र नहुने बताए । उनका अनुसार मुलुकलाई आत्मनिर्भर बनाउन सरकारको नीति कार्यान्वयनसँगै राष्ट्र निर्माणका लागि हरके नागरिकले संकल्प गर्नुपर्छ ।
‘उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि सरकारले नीति बनाएर मात्र हुँदैन, सरकारको नीति कार्यान्वयनका लागि हरेक नागरिकले राष्ट्र निर्माणको संकल्प गर्न आवश्यक छ’, उनले भने, ‘म मेरो देश बनाउँछु, म मेरो देशलाई सम्पन्न गर्छु, गरिबीको अन्त्य गर्न
मेरो ठाउँबाट भूमिका खेल्छु भनेर सबैले संकल्प ग¥यौँ र त्योअनुसार देश अगाडि बढ्यो भने हाम्रो गरिबी अन्त्य गर्न धेरै समय लाग्दैन, पाँच वर्ष काफी छ ।
’उनले बाँझो रहेका बारीमा वातावरणअनुसार बाली तथा तरकारी लगाउने, फलफूल लगाए त्यस्ता वस्तु आयात गर्नु नपर्ने समेत दाबी गरे ।व्यक्तिको सम्पत्ति नै राष्ट्रको सम्पत्ति भएकाले सामूहिक र एकल श्रमलाई पनि जोड दिएर राष्ट्रिय अभियान चलाउन मन्त्री शर्माले आग्रह गरे ।
यो पनि पढनुहोस : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन मिलेर अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अघि बढाउने बताएका छन् ।
स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ मा सहभागिता जनाएर नेपाल फर्केका देउवाले एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले आफूसँग
एमसीसी संसदबाट अनुमोदनबारेमा कुरा राखेको र आफूले त्यसलाई सत्ता गठबन्धनसँग मिलेर अघि बढाउने जानकारी दिएको प्रस्ट पारे । उनीहरु बीच मंगलबार भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री देउवाले भने, ‘प्रचण्डजी र मैले एमसीसी पास गराउँछौं भनेर पत्र पठाइसकेका छौं ।’ उनले एमसीसीकी ल्याटोर्तुलाई आफूहरुले सम्झौता कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिबद्धता गरिसकेको उल्लेख गर्दै अहिलेको संसद् अधिवेशन अन्त्य अर्कै कारणले गरिएको जानकारी दिएको उल्लेख गरे ।
देउवाले आफूले एमसीसी सम्झौताको सम्बन्धमा नभएर अध्यादेश जारी गर्नका लागि भएको जानकारी दिएको पनि प्रस्ट पारे । देउवाले ल्याटोर्तुले कहिलेसम्म संसद्बाट सम्झौता पास गर्नु हुन्न भन्ने जिज्ञाशा राखेको जानकारी दिए ।
नेपालमा संसद्बाट एमसीसी सम्झौतालाई अनुमोदन गर्ने सम्बन्धमा सत्ता गठबन्धन दलहरूबीचमा एकमत नरहँदा कठिनाइ भइरहेको छ । प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा भएको दाबी गर्दै यसमा विवाद गर्नु नपर्ने बताउँदै आइरहेका छन् ।
अमेरिकाले भने एमसीसीसँगको सम्झौताका विषयमा नेपालमा कार्यान्वयनमा लानको लागि संसदबाट आवश्यक अनुमोदन हालसम्म पनि नभएपछि असन्तुष्टि व्यक्त गरिरहेको छ । संसद्को अधिवेशन कात्तिक १२ गते अन्त्य भएकै दिन एमसीसी सम्झौता अनुमोदन नभएकोमा अमेरिकाले असन्तुष्टि जनाएको थियो ।
संसद् अधिवेशन अन्त्य गरिएकै दिन वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयले विज्ञप्ति जारी गर्दै सम्झौतालाई अगाडि बढाउने वा नबढाउने निर्णय अब नेपालमै रहेको उल्लेख गरेको थियो ।
एमसीसी सम्झौता अनुमोदन नगरिँदा लाखौं नेपाली घरपरिवारलाई थप लाभ पुर्याउन ढिलाइ भएको एमसीसीले जनाएको छ ।























