काभ्रे– पनौती नगरपालिकाले १२ वटै वडालाई अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा सुनिश्चित वडा घोषणासँगै नगरपालिकालाई नै अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा सुनिश्चित पालिका घोषणा भएको छ ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीलाई अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा सुनिश्चित पालिका घोषणाको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
प्रमाणपत्र हस्तान्तरण गर्दै जिल्ला समन्वय समिति प्रमुख गौतमले आधारभुत शिक्षामा पहुँचको हक संविधानमा नै उल्लेख गरिएको भन्दै कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षामा सबैको पहुँच सुनिश्चित भएसँगै अब गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक र समुदाय अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
पनौती नगर प्रमुख भण्डारीले शिक्षाको पहुँच, गुणस्तर, समानता र समावेशीतामा आधारित सामाजिक रुपान्तरणतर्फ अगाडी बढ्न नगरपालिकाले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्दै आएको बताउनुभयो । शिक्षाको पहुँच बाहिर नरहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उप–प्रमुख गिता बञ्जाराले शिक्षा बिना विकास र समृद्धि असम्भव रहेको बताउनुभयो । उहाँले पनौतीले विकास र समृद्धिको यात्रामा अघि बढाएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले नगरपालिकाले शिक्षा क्षेत्रमा महत्वपूर्ण फड्को मारेको दाबी गर्नुभयो । सबै बालबालिकालाई विद्यालयमा पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख रिमबहादुर तामाङ, पुर्व नगरप्रमुखहरु, विभिन्न पालिकाका शिक्षा शाखा प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रधानाध्यापक, विद्यालय व्यवस्थापक समिति अध्यक्ष, बालमैत्री सहजकर्ताहरु, शिक्षक, विद्यार्थी लगायत सरोकारवालको सहभागीता रहेको थियो ।























