ल्होछार भनेको के हो ? यो कसरी मनाइन्छ ? सबैले अनिवार्य थाहा पाउनुपर्ने !

काठमाडौँ –

सामान्य अर्थमा ल्होछार (ल्होसार ) भनेको बुद्धिष्टहरुको नयाँ बर्ष हो । ल्होछार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ ।

ल्होछार धर्म नभई सँस्कृति हो । यसलाई साँस्कृतिक पर्व को रूपमा पनि लिइन्छ । यस दिन तामाङ समूदायले विशेष परम्परागत अनि साँस्कृतिक महत्वकासाथ ल्होछार मनाउँदछन् ।

यसरी नेपालको उच्च पहाडी भेग र पहाडि भेगमा बसोवास गर्ने तामाङ समूदाय लगायत उत्तर छिमेकी मुलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि यस दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्षको रूपमा मनाउने गर्दछन् ।

विक्रम सम्वत् २०६४ साल यता सोनाम ल्होछारलाई राष्ट्रिय पर्वको मान्यता दिएर नेपाल सरकारले सार्वजनिक विदा दिंदै आएको छ ।

सोनाम ल्होछार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरुले शुभकामना सन्देश दिने चलन छ । ल्होछार मनाउने समूदायमा ‘ल्हो’ अर्थात् वर्षहरु बाह्रवटा हुन्छन् ।

ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ,

मुसाबाट शुरु हुने यि वर्षहरु जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ । बाह्र वर्गका वर्षहरुलाई बाह्र राशीका रूपमा पनि लिने गरिन्छ ।

विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । यस समूदायमा आज छोरीचेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ ।

तामाङहरुका अलवा ल्होछार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँदछन् । गुरुङले मनाउने ल्होछारलाई तमु ल्होछार, तामाङ लगायतका

जातिले मनाउनेलाई सोनाम ल्होछार, शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होछार भनिन्छ । सोनाम ल्होछार पर्व तामाङ जातीहरु पुगेका नेपाल सहितका अन्य मुलुकहरु सिङ्गापुर,

मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा मनाइदै आएको छ । ल्होछारको दिन यी देशहरुका अधिकांश वौद्धविहारहरु रगिंन र उल्लासमय हुन्छन्,

रंगीन सजावटका ध्वजा पताका अनि पुष्पद्वारलगायत अन्य मनमोहक सजावटले यो दिन वौद्धविहार बडो गज्जब देखिन्छ । मुख्यतया डाँडाकाँडामा भएका नेपाली बौद्धविहारहरुमा गरिएको यस्तो सजावटले परैबाट आँखा तान्दछ, असिम आनन्दको अनुभुती हुन्छ ।

तामाङले मनाउने सोनाम ल्होछार माघ शुक्ल प्रतिपदाको दिन पर्दछ । संवत अनुसार जुन दिन परेपनि ल्होछारको शुभकामना र रौनकता भने माघ महिनाभरि नै रहन्छ ।

सोनाम ल्होछारमा घर बस्तीहरु सफा गरी वुद्धका चित्रहरु अंकित ध्वजापताकाहरु टाँगेर वुद्धको पूजाअर्चना गरिन्छ । कतिपय ठाउँमा जात अनुसारका गाउँका लामा र मुखियाको उपस्थितमा सबैजना एकै ठाउँमा भेला भई नाचगान रमाईलो पनि गरिन्छ ।

यसरी गाईने अनि नाचिने गीतहरूलाई ‘तामाङ सेलो’ भनिन्छ, सुस्तरि तर वडो मधूररुपमा गाईने यस्ता सेलोहरुमा डाँडापाखा, कन्दरा अनि दैनिक जीवन भोगाई लगायत माया प्रेमका भावनाहरु पनि समावेश हुन्छ ।

डम्फु चाँही यस समूदायको मौलिक हस्ताक्षर बाजा हो । डम्फू अनि सेलोको सुमधूर मिश्रण मनमोहक हुन्छ । धेरैजसो यस्ता सामूदायीक कार्यक्रमहरु खुला आकाशमुनि गरिन्छ,

परम्परागत पहिरनमा सजिएका तामाङ समूदायका ब्यक्तिहरु लगायत अन्य सबै समूदाय अनि सबै धर्मका ब्यक्तिहरुलाई यस समूदायले खुल्ला हृदयले स्वागत गर्दछन् ।

ल्होछारमा प्रतिपदाको दिन सबैभन्दा सुरुमा घरहरु सफा सुग्घर गर्ने र नुहाईधुवाई गरेर लामाहरुबाट पुजापाठ गराईन्छ । पुजापाठ गरेर लुङ्दर राखीसकेपछि औँशीको तिथिमा राति ११ बजे ल्हो फालेर विभिन्न परिकारहरु बनाइन्छ ।

जस्तै ः पञ्चाअमृत अर्थात दुच्छे, खम्सी, गथुम्बा, छेमार लाखङहरु बनाएर मनाइन्छ । बिहानै लामा गुरुले ला म्हेन्दो (टटेलाको फुल) को टिका लगाउँदै आर्शिवाद दिनुहुन्छ । अनि आफूभन्दा ठूला मान्छे सबैलाई ढोगेर आर्शिवाद लिइन्छ ।

ल्होछारमा बिषेश गरी नयाँ नयाँ कार्यहरु बारे सोच्ने, कहिले नभेटेको आफन्तहरु भेट्ने घुम्ने अनि बिभिन्न साँस्कृति कार्यक्रम गरेर भावानत्मक रुपमा खुशी एकआपसमा साटासाट गरेर मनाइन्छ ।

काठमाण्डौमा भने यस दिन रत्नपार्क शान्तिबाटिका बाट र्याली निकाल्दै टुँडिखेलमा गएर कार्यक्रमको शुरुवात गरिन्छ । बि.स २०१३ सालमा स्थापित तामाङ

समुदायको साझा संस्था नेपाल तामाङ घेदुङ र विभिन्न तामाङ संघसंगठनहरुको सहयोगमा टुँडिखेलमा विविध सांस्कृतिक कार्यम गरेर सोनाम ल्होछारलाई तीनदिनसम्म मनाउँदै आइरहेको छ ।

चनखु

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १० मा पनि २०७४ सालदेखि निरन्तर रूपमा सोनाम ल्होछार मनाउँदै आइरहेको छ ।

२०७४ पौष १९ गते जिल्ला प्रशासन कार्यालय रामेछापमा ह्याङ्ला ह्युल सामुदायिक संस्था दर्ता भए लगत्तै उक्त संस्थाले पहिलो कार्यक्रम नै ल्होछार विषेश सास्कृतिक कार्यक्रम गरेको थियो ।

पहिलो र दोस्रो बर्षको ल्होछार कार्यक्रममा गाउँकै ज्येष्ठ नागरिक स्व.सुकुमाया योन्जन घिसिङ को हातबाट कोम्हेन्दो(टोटलाको फुल) घ्युमा लगाएर टिका लगाइदिने गरिएको थियो ।

अहिले ह्याङ्ला ह्युल सामुदायिक सस्थाको आयोजनामा प्रत्येक बर्षको ल्होछारमा विविध सांस्कृतिक कार्यक्रम गर्दै सामुहिक रूपमा मनाउँदै आइरहेको छ ।

चनखुमा ह्याङ्ला संस्थाले `चनखु- वृहत् सोनाम ल्होछार सांस्कृतिक समारोह´ को आयोजना गरि विभिन्न सरकारी,गैरसरकारी ,राजनीतिक दलका नेताहरु र ख्यातिप्राप्त कलाकारहरुलाई बोलाएर ल्होछार मान्ने गरेको छ ।

संस्थाले ल्होछार कार्यक्रममा उपस्थितिहरुलाई खाजा स्वरुप तामाङ परिकार भाल्डो,बाबरे रोटि र खाप्से दिने गरेका छन् । ल्होछार साँस्कृतिक

कार्यक्रममा स्थानीय मौलिक ताम्बा(डम्फु) नाच र बोन्बो(झाँक्री) नाच पनि देखाउने गरिएको छ । त्यस्तै कार्यक्रममा प्रायः सबैले तामाङ मौलिक पोषाक लगाएर उपस्थित हुने गरेका छन् । पिलटिअनलाईन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...