विवाहको निमन्त्रणा कार्डमा बेहुला-बेहुलीको जन्ममिति अनिवार्य !

काठमाडौँ – रुकुमपश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ३ ले विवाहको निमन्त्रणा कार्डमा बेहुला र बेहुलीको जन्ममिति अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

वडाले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको छ ।

बालविवाह रोक्नको लागि निमन्त्रणा कार्डमै जन्म मिति उल्लेख गर्नुपर्ने व्यवस्था गरेको वडाध्यक्ष केशरमान विकले जानकारी दिनुभयो । वडामा गएको साउनपछि १० जोडीले बालविवाह गरेको तथ्याङक छ ।

जसमध्ये एक जोडीको विवाह वडा कार्यालयले रोकेको छ । वालविवाह रोक्नको लागि सचेतनामूलक लगायतका धेरै कार्यक्रम गरेपनि सफल नभएपछि निमन्त्रणा कार्डमा जन्ममिति अनिवार्य गरेको उहाँले बताउनुभयो ।

वडा भित्रकै जोडीको जन्ममिति वडामा रहेको जन्मदर्ता विवरणबाट खुल्ने र अरु पालिकाका बेहुला वा बेहुली भए पनि सम्बन्धित पालिकासँग समन्वय गरेर जन्मदर्ताको विवरण मगाउने गरेको वडाध्यक्ष बिकले बताउनुभयो ।

सो वडामा विगत पाँच वर्षदेखि मदिरा तथा सुर्तीजन्य पदार्थ पनि निषेध गरिएको छ । विं.स. २०७५ मङ्सिर १५ गतेदेखि वडामा मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ ।

वडाले मदिरा सेवन गरेका पाँच जनालाई रु पाँच हजारका दरले जरिवाना गराएको र मदिरा बिक्री-वितरण गर्ने एकजनालाई रु २० हजार जरिवाना गराएको छ । उनले वडामा बालविवाहसँगै मदिरा र सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न पहल थालिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...