काभ्रे – युवा नेता तथा समाजसेवी रोशन राज पाण्डेले बेथानचोक गाउँपालिका वडा नं. ६ मा रहेको सरस्वति माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई खेलकुद सामाग्री वितरण गरेका छन् ।
राज्यको न्यून उपस्थितिका कारण विद्यालयमा खेलकुद सामग्री अभाव देखिएपछि आवश्यक खेलकुद सामाग्री हस्तान्तरण गरिएको समाजसेवी रोसन राज पाण्डेले बताए ।
विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने सपना बोकेका विद्यार्थीहरू खेलकुद सामग्रीको अभावका कारण पछाडि पर्न बाध्य हुँदै आएका थिए । त्यो पीडादायी यथार्थलाई मनन गर्दै युवा नेता तथा समाजसेवी रोशन राज पाण्डेले आवश्यक सामग्री सहयोग गर्दै आशाको नयाँ दियो बालिदिएका हुन्। प्रतिभा भएर पनि साधन नहुँदा अवसरबाट वञ्चित हुनुपरेको अवस्थाप्रति गहिरो मर्म बुझ्दै उनले भावुक हुँदै भने, “प्रतिभा गाउँ–ठाउँमै जन्मिन्छ, अवसर मात्र दिन सक्नुपर्छ।”
दुर्गम बस्तीका माटोमा लुकेर बसेका सपनाहरूले उडान पाउन सकून्, विद्यार्थीहरू आत्मविश्वासका साथ मैदानमा उत्रन सकून् भन्ने उद्देश्यले गरिएको सहयोगले विद्यार्थीहरूको मनोबल ह्वात्तै बढेको बताउँदै अब राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि उत्साह, ऊर्जा र नयाँ विश्वासका साथ तयारी अघि बढ्ने उल्लेख गरेको छ।
समाजसेवा भाषण र प्रतिबद्धतामा मात्र सीमित हुँदैन, व्यवहारमै देखिनुपर्छ भन्ने सशक्त सन्देश पाण्डेको कदमले दिएको छ। उनको यस पहलले राज्यका निकाय र अन्य सामाजिक व्यक्तित्वहरूलाई पनि दुर्गम क्षेत्रका आवश्यकता सम्झिन प्रेरणा दिएको छ। शिक्षा र खेलकुदको संयोजनबाट उज्ज्वल भविष्य कोर्न सकिन्छ भन्ने दृढ विश्वाससहित गरिएको यो सहयोगले बेथानचोकका विद्यार्थीहरूको मनमा नयाँ आशा, नयाँ हिम्मत र नयाँ सम्भावनाको उज्यालो थपिदिएको छ।
























