काठमाडौं – बीमा प्राधिकरणले रिइन्स्योरेन्स कम्पनीहरूले २० अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन दिएसँगै हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद दिने भएको छ ।
प्राधिकरणले हालै रिइन्स्योरेन्स कम्पनीहरूलाई एक वर्षभित्र चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । कम्पनीले प्रकाशित गरेको साधारण सभा गर्ने सम्बन्धी सूचनामा यस्तो जानकारी दिइएको हो ।
कम्पनीले फागुन २० गते तेस्रो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले यसअघि ४ प्रतिशत बोनस सेयर प्रस्ताव समेत गरेको थियो ।
कम्पनीको सेयरमा फागुन ६ गतेसम्म लगानी गर्नेले बोनस सेयर पाउनेछ । कम्पनीको बोनस सेयर दिएपछि चुक्ता पुँजी १० अर्ब ४० करोड रूपैयाँ पुग्नेछ ।
८० प्रतिशत हकप्रद सेयर जारी गरेर कम्पनीले ८ अर्ब ३२ करोड थप जुटाउनेछ । हकप्रदको लागि भने पछि बुक क्लोज मिति सार्वजनिक हुनेछ ।
हकप्रद र बोनस सहित कम्पनीको चुक्ता पुँजी १८ अर्ब ७२ करोड पुग्नेछ ।