काठमाडौं-
बेलायतका सबैभन्दा कम उमेरका अर्बपति जोनी बफरहाट एक पटक फेरि चर्चामा छन् । २७ वर्षका जोनीले होपिन नामको एक भिडियो कन्फ्रेन्सिङ एप बनाएर अरबौं रुपैयाँको कम्पनी खडा गरे ।
अहिले उनले यही कम्पनीको केही शेयर बेचेर थप १०० मिलियन पाउण्ड (१६ अर्ब रुपैयाँ) कमाएका छन् । उनको यो सफलताको पछाडि उनकी गर्लफ्रेण्डको ओच्छ्यानको खास भूमिका छ ।
खासमा जोनीको करिअर २०१८ मा उनकी गर्लफ्रेण्डको ओच्छ्यानबाट सुरु भएको थियो । डेलीस्टारका अनुसार उनले गर्लफ्रेण्डको ओच्छ्यानमा सुतेरै यो होपिन एपको कोडिङ सुरु गरेका थिए ।
तर त्यतिबेला पैसा नभएका कारण उनले यो एप लञ्च गर्न सकेनन् । होपिन एप जूम कल जस्तै हो जसको माध्यमबाट मानिसहरु लाइभ भिडियो कल गर्न सक्छन् ।
होपिनले कुनै पनि संस्थाका स्टाफलाई रिमोट नेटवर्कमा काम गर्ने सुविधा दिन्छ । जोनीले २०२० मा होपिन लञ्च गरे । त्यसपछि उनले फण्डिङ
जुटाएर बेलायतका सबैभन्दा कम उमेरमा आफ्नै परिश्रमले अर्बपति बन्ने व्यक्ति बने । केही दिन पहिले उनले आफ्नो कम्पनीको केही शेयर बेचेर १०० मिलियन पाउण्ड कमाएका छन् ।
उनले २०२० मा बेलायतमा लकडाउनपछि घरबाटै काम गर्ने प्रचलन बढ्न थालेको देखेपछि यो एप लञ्च गरेका थिए । लञ्च भएको एक वर्षपछि नै
यो एपका प्रयोगकर्ताको संख्या ५० लाखभन्दा धेरै भइसकेको थियो । यति ठूलो संख्यामा प्रयोगकर्ता भएपछि यो एपको मार्केट क्याप ४.१ बिलियन पाउण्ड भइसकेको थियो ।
होपिनको बढ्दो मार्केट क्यापका कारण जोनीको कूल सम्पत्ति १.५ बिलियन पाउण्ड (२ खर्ब ४१ अर्ब रुपैयाँभन्दा धेरै) भएको छ ।
उनी २०२१ मा सन्डे टाइम्स रिच लिस्टमा ११३ औं स्थानमा थिए । जोनीका अनुसार उनका साथीहरुको लागि भने उनी निकै बोरिङ छन् ।
किनकि उनी न ड्रिंक गर्छन् न पार्टी गर्छन् । उनलाई यस्तो केही पनि मन पर्दैन । अहिले जोनी आफ्नो एपमा अन्य केही फिचरहरु थप गर्ने विषयमा काम गरिरहेका छन् ।
























