काठमाडौं – शेरबहादुर देउवालाई ७ पटकसम्म प्रधानमन्त्री हुने योग परेको भन्ने ज्योतिषले अझै ४ महिना देश कठिनपूर्ण यात्रामा जाने बताएका छन् । डिसी नेपालसँगको कुराकानीमा उनले असार २६ गतेसम्म रहेको छत्रभंग योगका कारण यो परिवर्तन भएको बताए।
‘गत फागुमा नै मैले भनेको थिएँ, असार २६ पहिला परिवर्तन हुँदैन भनेर।’ उनले भने, ‘किन भने चैत्र २१ गतेदेखि असार २६ गतेसम्म छत्रभंग योग थियो। त्यो बेलामा राजनीतिको शिर्ष स्थानमा रहेकाहरुले आसन छोड्नु पर्ने, प्रतिनिधिसभा जस्ता राजनीतिक सर्वोच्च संस्थाहरु विघटन हुनु पर्ने नै थियो।’
उनले त्यो बेला नै शेरबहादुर देउवालाई ४ महिना नेतृत्वमा जाने काम नगर्न सल्लाह दिएको पनि जानकारी दिएका छन्। उनले भने, ‘असार २६ भन्दा पहिला यस्तो निर्णय आउथ्यो भने पनि भन्न सकिन्थेन्। तर, अझै पनि ४ महिना देशले कठिन परिस्थिति भोग्नु पर्छ।’
नेपाली कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवा हालसम्म ४ पटक प्रधानमन्त्री भइसकेका छन्। सर्वोच्चको परमादेश अनुसार शेरबहादुर देउवा ५औँ पटक प्रधानमन्त्री बन्दै छन्।
सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनासहित काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश दियो । सर्वोच्चको फैसलासँगै देउवानिवास बूढानीलकण्ठमा काँग्रेसका नेता–कार्यकर्ताहरु भेला हुन थालिसकेका थिए ।
यसै क्रममा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देउवालाई ७ पटक प्रधानमन्त्री बन्ने योग रहेको बताउने ज्योतिषसँग भेट्न चाहेको बताए । शर्माले भने, ‘सभापतिज्यू तपाईंको ज्योतिषसँग एकपटक मैले पनि भेट गर्नुपर्ने देखियो । मलाई भेट गराउनुपर्यो ।’
शर्माले यति भनेपछि उपसभापति विमलेन्द्र निधि बोले, ‘भाइहरूको पालो मेरोपछि आउँछ, पहिले त मैले पो भेटिनुपर्ने भयो ।’ विमलेन्द्र र विश्व प्रकाशको कुरा सुनिसकेपछि सबै नेताहरु हाँसे । थिए ।
गत आम चुनावका क्रममा ०७४ कात्तिक ३० गते देउवाले आफूलाई ज्योतिष ‘सात पटक प्रधानमन्त्री हुने योग रहेको बताएको’ भनेका थिए । नेपालीहरु ज्योतिषीप्रति विश्वास गर्ने भएकाले सो कुरा भएको देउवाको भनाइ थियो । त्यसो त बूढानीलकण्ठमा ज्योतिषको चर्चा हिजो मात्र भने भएको होइन ।
यसअघि गत चैतमा पनि पत्रकार महासंघको चुनावका सन्दर्भमा छलफल हुँदा पनि देउवाका ज्योतिषको चर्चा भएको थियो । त्यो दिन नेता कृष्णप्रसाद सिटौला र मिनेन्द्र रिजालले ‘ज्योतिषले तपाईंलाई सात पटक प्रधानमन्त्री हुने योग रहेको बताए । त्यो हुँदा त हाम्रो त पालै पो नआउने देखियो’ भन्दै ठट्टा गरेका थिए ।
यसअघि काँग्रेस नेता स्वर्गीय गिरिजाप्रसाद कोइराला र राप्रपाका नेता लोकेन्द्र बहादुर चन्द चाररचार पटक देउवा प्रधानमन्त्री बनेका थिए । यसैबीच, केही समयअघि देउवा निवासमा पुगेका ज्योतिष सुरेन्द्रचन्द्र रिजालले असारअघि देउवाका लागि सत्ता योग राम्रो नभएको बताएका थिए ।
























