काठमाडौं – रोल्पाकी सरला (नाम परिवर्तन) ले अपांगता भएकी आफ्नी १९ वर्षीया छोरीलाई लामो समययता परिवार नियोजनको अस्थायी साधन तीन महिने सुई लगाइदिने गरेकी छन ।
द्वन्द्वकालमा शारीरिक हिंसासमेत खेपेकी सरलाका तीनमध्ये एक छोरी मानसिक रूपले अपांगताको सिकार भएकी छन् । विपन्न परिवारकी उनी दिनभर मजदुरी गर्न गएको समयमा उमेर पुगेकी छोरी जथाभावी हि“ड्न थालेपछि सावधानी अपनाउँदै उक्त सुई रोज्नुपरेको बताउँछिन् ।
खराब नियत भएका पुरुषहरूको चंगुलमा परेकी छोरीको गत साल गर्भपतन गराउनुपरेपछि सरलाले छोरीका लागि तीन महिने सुई विकल्पका रूपमा रोजेकी हुन्। ‘म दिनभर मजदुरी गर्न जान्छु। छोरी एक्लै यताउति हिँड्छे। पोहर कुन चाहि पापीले छोरीमाथि जथाभाबी गरेछ ।
जसोतसो अस्पताल लगेर बच्चा फाल्नुप यो,’ उनी भन्छिन्, ‘दिशा, पिसाब र महिनावारीसमेत स्याहार्न नसक्ने छोरीलाई मन दुखाएर भए पनि तीनमहिने सुई लाइदिने गरेकी छु ।
उमेर नपुगेकी छोरीलाई परिवार नियोजनको अस्थायी साधन तीन महिने सुई लगाएर बचाउनुपर्ने अवस्थाले आम रूपमा महिला कति असुरक्षित छन् भन्ने पुष्टिसमेत गरेको छ। सामाजिक सुरक्षा भत्ताको भरमा जेनतेन दैनिकी चलाइरहेका सरला र उनीजस्तै त्यही भत्ताका भरमा चुलो बाल्ने अन्य सहिद परिवारको अवस्था आज पनि दयनीय छ ।
मृतक, बेपत्ता र घाइते अपांगता भएकाको मात्र तथ्यांक राखेको राज्यसँग यौन हिंसापीडितको आधिकारिक लगत छैन । त्यो बेलाको राज्य पक्षजस्तै विद्रोही पक्ष पनि पटकपटक राज्य सत्ताको सिंहासनमा राज गरे पनि आफ्ना कारण दुखेकाको घाउमा मलम लगाउन बस्ती छिरेको देखिँदैन ।
‘खाना लागेको गाँस काटेर परिवर्तनका लागि भनेर बन्दुक बोकेकाको पेट भरियो । उनलाई खाना खुवाएको बदलामा शरीर लुटाउनुपर्यो। तर अहिले खाना खाने र लुट्ने दुबै पक्षले सबै भुले,’ स्थानीय एक द्वन्द्वपीडित भन्छन्, ‘त्यो बेलाको युद्धले वास्तवमै रोल्पालीका लागि धोका मात्र दिएको छ। साँच्चिकै धेरै द्वन्द्वपीडितहरू आज पनि कहि कतै खोजिएका छैनन् ।’
माओवादी द्वन्द्वको उद्गम थलोका रूपमा चिनिएको रोल्पामा हिजो दिएका घाउले आज पनि दुखाइरहने गरेको छ । माओवादीले माओवादसँगै आफूहरूलाई समेत भुलेको द्वन्द्वपीडितको गुनासो रहने गरेको छ । ’ यो खबर आजको नागरिक दैनिकमा छ । (फोटो : फाईल तस्विर)
























