जापानमा नेपाली सन्तानलाई नेपाली संस्कार नसिकाउदा आईलाग्यो यस्तो आपात

सबैको मनमा बसेको देश जापान । जहाँ जानाको लागि धेरै नेपालीहरु मरिहत्ते गर्छन् । किनकी त्यहाँको रहनसहन,वातावरणका साथै राम्रो कमाई जसको कारण लाखौ मानिस गइरहेको छन् र कति जाने क्रममा पनि रहेको छ ।


जापानमा धेरै मानिसहरु विद्यार्थी भिसामा जाने र उत्तै घरबार गरेर बस्ने गरेको धेरै संख्यामा रहेको छ । यससँगै उनीहरुले आफ्ना बालबच्चाहरू यतै ल्याउने र यतै पढाउने प्रचलन ह्वात्तै बढेको छ । करिब एक दशकयता जापानमा नेपालीहरूको संख्या बाक्लिँदै जाँदा बसाइसमेत लम्बिन थालेको छ ।

जापान यस्तो मुलुक हो जहाँ बालबालिकालाई सुरुदेखि शिक्षामा आत्मनिर्भर हुनुपर्छ भनेर सिकाइन्छ । विश्वपरिवेशमा यो उचित पनि छ । यहाँका बालबालिका विद्यालय जान उत्साहित हुन्छन् किनकि यहाँ पढाइका नाममा रगडाइ हुँदैन । उनीहरूले विद्यालयमा प्रशस्त खेल्न पाउने, इच्छाएका गतिविधि गर्ने मौका पाउँछन् ।

अर्थात् नेपालमा जस्तो किताब घोकाइ र पढाइमा मात्र सीमित रहनुपर्ने बाध्यता हुँदैन । यही वातावरणमा बच्चाहरूले शिक्षाप्राप्तिको सुरुवात गर्छन् । गत शनिबार म रेस्टुरेन्टमै थिएँ । एक ग्राहकले फोनबाट खाना अर्डर दिए । तोकिएकै समयमा आइपुगे । खाना तयार हुँदै थियो, केही मिनेट कुर्न पर्‍यो । जुस पिउँदै कुरा गर्दा ती व्यक्ति नेपाली भन्ने थाहा भयो ।

तर लवाइ, खवाइ, बोलाइ सबै जापानी थियो । अलिअलि नेपाली बोल्थे । ती भाइसँग एक छिन गफिने मौका मिल्यो । उनका बाबाआमासँगै एक दाजु र दिदी पनि जापान बस्दा रहेछन् । उनीचाहिँ अहिले आफ्नै तरिकाले छुट्टै बाहिर बस्दै आएका रहेछन् । बाबा कता भनेर सोध्दा ‘खोइ पहिले मैले छोडेकै स्थानमा हुनुहुन्छ होला’ भने । ‘किन भेट हुँदैन रु’ जिज्ञासा स्वाभाविक भयो ।

उनले दुई वर्षपहिले भेट भएको बताए । दाइ पनि दाइगाक्को पढ्न छोडेर आफैं कतै काम गरिरहेको भन्ने बुझियो । अनि दिदी पनि त्यस्तै । परिवारसँग ४–५ महिनापहिले कुरा भएको उनले सुनाए । म केही समय तरंगित भएँ, जापानमा नेपाली परिवारको यो बसाइ र सम्बन्धले ।के नेपाली परिवार यस्तै हुन्छ त रु म सोचमग्न भएँ ।


अनि उनलाई सम्झाएँ, ‘भाइ जे भए पनि बाबासँग भेट्न पर्छ, दिदी–दाइलाई फोन गर्नुपर्छ ।’ उनले भने, ‘मसँग नम्बर नै छैन, कसरी फोन गर्नू रु’ त्यसपछि कुराको बिट मर्‍यो । मलाई नेपाली संस्कार र पारिवारिक संरचना विश्वकै उत्कृष्ट लाग्छ । आफन्त, नातागोता, आफ्नो मान्छे भन्ने भाव नेपाली संस्कारले मात्र चिनाउँछ । विश्वमा हामी फरक र आत्मीय हुन यही संस्कारले सिकाएको छ ।

मैले यो कुरा कहाँनेर जोड्न खोजेको भने जापानमा बच्चाहरू राखेर पढाउनुहोस् । यसबाट राम्रो शिक्षा दिन सकिन्छ । हो, जापानको शिक्षाप्रणाली उत्कृष्ट पनि छ । तर आफ्ना बालबच्चालाई सानैदेखि सकी–नसकी जापानी भाषा बोल्न लगाएर नेपाली बिर्सन बाध्य नबनाउनुहोस् ।


जब बच्चा जापानी संस्कारमा पूर्णतः विलीन हुन जान्छ, त्यतिखेर तपाईंले चाहेर पनि नेपाली संस्कारमा जोड्न सक्नुहुन्न । विद्यालयमा उनीहरू अध्ययन गर्छन्, ठिक छ तर घरमा आफ्ना सन्तानसँग जापानी नबोलिदिनुस् । ताकि बच्चाले कम्तीमा नेपाली भाषा सिक्ने मौका पाओस् ।

झुकेर मात्र संस्कारी बनिँदैन, नेपाली मौलिक संस्कार पनि सिकाउनुहोस् । घर वा निकटका आफन्तसँग फोनमा कुरा गर्दा बच्चालाई अनिवार्य बोल्न लगाउनुहोस् । जसबाट उनीहरूलाई आफन्त चिन्न र घुलमिल हुन सजिलो हुन्छ ।अन्त्यमा यसैमा अर्को प्रसंग जोड्न मन लाग्यो । सम्भवतः सन् २०१७ मा गल्कोट समाजको सांगीतिक कार्यक्रम चलिरहेको थियो ।

जापानमा हुर्केका केही बालबालिका परिवारसँगै कार्यक्रमस्थलमा आएका थिए । नेपाली लोकप्रिय गीतले पूरै हल गुञ्जायमान् थियो । ९९ प्रतिशत सहभागी गीतमा नाच्दै मनोरञ्जन लिइरहेका थिए । तर मेरो नजर कानमा हेडफोन लगाएर मोबाइलमा गीत सुनिरहेका एकाध बालबालिकाहरू तिर गयो ।


यसले के प्रस्ट पार्छ भने नेपाल र नेपाली संस्कृतिसँग जापानमा हुर्किएका हाम्रा बालबालिका टाढिइसकेका छन् । तसर्थ बेलैमा सचेत बनौं । बालबालिकालाई अहिलेदेखि नै आफ्नो पन र आफ्नो मन बचाइराख्न नेपाली कला र संस्कार सिकाउने गरौं । नेपालीमा कुरा गरौं, नेपालीमै गाली गरौं तर बिन्ती नेपालसँग टाढा नगराऔँ ।

अहिले त उनीहरूले जापानी भाषा सिकेको र उत्कृष्ट नतिजा ल्याउनुले तपाईंलाई खुसी देला । तर पछि माथि उल्लिखित प्रतिनिधिपात्रजस्तै तपाईंका सन्तान तपाईंबाट टाढिए भने जीवनभर पछुतो मात्र हुनेछ । त्यतिखेर न सन्तानलाई साथमा ल्याउन सक्नुहुन्छ न स्वदेश फर्किएर आफन्तजन पाउन ।

नेपाली माटो र मनमा हुर्केका हामी, जतिसुकै सुखसुविधा र विदेशी संस्कारमा रमे पनि बुढेसकालमा सन्तानबिनाको अन्तिम सास लिन कहाँ त्यति सजिलो छ र रु त्यसैले व्यक्तिगत भाव र अनुभूतिको यो विषयमा सोच्नुहोला है । नयाँ विश्वबाट सभार

भवानी पन्त,( हाल : नागोया, आइचिकेन जापान )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...