घरजग्गा कारोबारमा यस्तो नियम लागु गर्दै सरकार

काठमाडौं – घरजग्गाको कारोबार कम्पनी मार्फत गर्नु पर्ने व्यवस्थ गर्ने सरकारले तयारी थालेको छ । व्यक्ति मार्फत घरजग्गा खरिद बिक्रि गर्दा कर तथा राजस्व छली हुनुका साथै ठगीका घटनाहरु बढेको भन्दै भुमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्रलायले कम्पनी मार्फत मात्रै किनबेचका लागि व्यवस्थ गर्न लागेको हो ।


मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जग्गा किनबेचका लागि भूमि बजार (ल्यान्ड मार्केट) स्थापना गरी आधिकारिक निकाय तोकिने जानकारी दिए । यो प्रक्रिया कार्यान्वयनमा आइसकेपछि जग्गा किन्ने, बिक्री गर्ने मान्यता प्राप्त निकायबाहेक व्यक्तिले व्यक्तिलाई जग्गा बिक्री गर्न पाउने छैनन् ।


‘यस्तो व्यवस्था कार्यान्वयन भए घरजग्गा किनबेच हुँदा हुने अनियमितता रोकिनेछ’, उनले भने । भूमि बजार कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषय टुंगो लागेको छैन। ‘मन्त्रालयअन्तर्गत रहने या छुट्टै निकाय रहने वा त्यसको जिम्मा निजी क्षेत्रलाई दिने भन्नेमा अध्ययन भइरहेको छ’, उनले भने । भूमि बजार सञ्चालन गर्न कार्यविधि, ऐन, नियम र संरचना कस्तो बनाउने भन्नेमा प्रारम्भिक छलफल सुरु भएको छ ।


भूमि बजारका लागि मन्त्रालयले समिति बनाएर थप अध्ययन गरिरहेको छ। जग्गा खरिद बिक्रीमा दलाल प्रवृत्ति निकै हाबी छ । उनीहरूले सर्वसाधारणलाई ठग्नुका साथै राजस्व पनि चुहावट भइरहेको छ। अब जग्गा किन्न र बेच्न इच्छुक व्यक्तिले सरकारले तोकेको आधिकारिक संस्थामा जानुपर्छ । खरिदकर्ताले आफूलाई पायक पर्ने र मनपर्ने स्थानमा सहजै जग्गा खरिद गर्न पाउनेछन्। बिक्री गर्ने व्यक्तिले पनि उक्त निकायमार्फत सहजै जग्गा बिक्री गर्न सक्छन् ।


अहिले घरजग्गा व्यवसायीले खरिदकर्ता तथा बिक्रीकर्ता दुवैबाट चर्को मूल्य असुलिरहेका छन् । उनीहरूले जग्गाको मूल्यअनुसार सरकारलाई समेत राजस्व तिर्दैनन् । अब सरकारी मान्यता प्राप्त निकायबाट जग्गाको कारोबार गर्दा हुने ठगी रोकिनेछ ।


मन्त्रालयले अनलाइनबाटै जग्गा खरिदबिक्री गर्ने व्यवस्था गर्न लागेको छ। बिक्री गर्नुपर्ने जग्गाको विस्तृत विवरण वेभसाइटमा राखिन्छ । खरिदकर्ताले मन परेमा उक्त अनलाइनमार्फत नै खरिद गर्न सक्छ ।

कम्पनीमार्फत कारोबार गर्दा कारोबारको संख्या कम देखिए पनि सरकारलाई राजस्व बढी प्राप्त हुन्छ । घरजग्गा व्यवसायी विशाल सुवेदीले कम्पनीमार्फत कारोबार गर्दा व्यवस्थित हुने बताए ।


‘कम्पनीले राज्यलाई राजस्व पनि तिर्ने भएकाले निकाय खडा हुँदा राम्रो हुन्छ’, उनले भने । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पछिल्लो समयमा घरजग्गा कारोबारमा गिरावट आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...