काठमाडौं –
नेपाली कथानक चलचित्र ‘दुई नम्बरी’बाट अभिनेत्री वर्षा राउतलाई हटाइएको छ। केही दिनअघि मात्रै यो चलचित्रमा अनुबन्धित भएका पल शाहको ठाउँमा अर्का अभिनेता सौगात मल्ललाई भित्र्याइएको थियो।
नाबालिगमाथि कर णीको आरोप लागेका पल प्रहरी हिरासतमा रहेकाले उनको ठाउँमा सौगातलाई भित्राएको फिल्म युनिटले अभिनेत्री पनि नयाँ भित्र्याउन लागेको हो।
निर्माण टिमले वर्षासँगको आन्तरिक छलफलबाटै उनलाई हटाउन लागेको बताएको छ। चलचित्रका निर्माता किरण नेपालीले अभिनेत्री परिवर्तनको निर्णय भए पनि नयाँ कसलाई लिने भन्ने टुङ्गो नभएको बताए।
यता अभिनेत्री वर्षा राउतले भने आफ्नो प्रोजेक्ट जुधेकाले आफैँ बाहिरिन लागेको बताएकी छन्।
निर्माण घोषणा भएको ३ वर्षसम्म पनि छायांकन हुन नसकेको यो चलचित्रमा दयाहाङ राई र भुटानी अभिनेत्री उगेन छोदेनले पनि शिर्ष भूमिकामा रहेर अभिनय गर्नेछन्।
यो चलचित्र मार्फत दीपक मनाङे पनि निर्माता बन्दैछन्।
यो पनि : डा. कपिल रिजालको निर्देशन रहेको फिल्म ‘ह्यारी कि प्यारी’ को छायांकन सकिएको छ । फिल्मको छायांकन मंगलबारबाट सकिएको हो ।
करिब डेढ महिनालगातार छायांकनपछि फिल्म सकिएको निर्देशक रिजालले बताए । ‘फिल्म पूरै पारिवार बसेर हेर्न मिल्ने बनेको छ’ निर्देशक रिजालले भने ।
रोमान्टिक कमेडी विषयमा बनेको फिल्मको काठमाडौं, पोखरा, पर्वत, चितवनलगायतका स्थानमा छायांकन भएको छ । बिआर प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता गायक एवं गीतकार समेत रहेका डा. भोला रिजाल हुन् ।
रिजालले दुई दशक अन्तरालपछि फिल्म बनाएका हुन् । जीतु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको फिल्ममा जीतु ह्यारी र साम्राज्ञी उनको प्यारीका रुपमा देखिनेछन् ।
जीतु र साम्राज्ञीका अलवा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारको समेत अभिनय फिल्ममा देख्न सकिनछे ।
निर्देशक रिजालकै कथा, सुदीप बरालको पटकथा र संवाद रहेको फिल्ममा गिरीराज घिमिरे शिखर सन्तोष र युग भुषालको संगीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी, सुदीप बरालको छायांकन रहेका फिल्म अर्जुन जिसीले सम्पादन गर्नेछन् ।
























