काठमाडौं – खोकीको औषधिबाट ६८ जना बालबालिकाको ज्यान गएको घटनामा उज्बेकिस्तानको एक अदालतले २३ जनालाई जेल सजाय सुनाएको छ ।
उनीहरू कर छली, गुणस्तरहीन वा नक्कली औषधि बिक्री, कार्यालयको दुरुपयोग, लापरबाही, किर्ते र घुसको अभियोगमा दोषी ठहर भएका हुन् । सजायको दायरा २ देखि २० वर्षसम्मको रहेको बीबीसीले जनाएको छ ।
हानिकारक दूषित सिरपहरू भारतको मेरियन बायोटेकले उत्पादन गरेको र उज्बेकिस्तानको कुरम्याक्स मेडिकलले वितरण गरेको थियो । कुरम्याक्स मेडिकलका कार्यकारी निर्देशक सिंह राघवेन्द्र प्रतारलाई सबैभन्दा लामो २० वर्षको जेल सजाय सुनाइएको खबरमा उल्लेख छ ।
आयातित औषधिलाई इजाजतपत्र दिन जिम्मेवार पूर्व वरिष्ठ अधिकारीहरूलाई पनि सजाय सुनाइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यसअघि नै मेरियन बायोटेकका दुईवटा कफ सिरप एम्ब्रोनोल र डोक–१ म्याक्स कम गुणस्तरको औषधि रहेको बताएको थियो ।
अदालतले ज्यान गुमाउने ६८ जना बालबालिकाका परिवारलाई र खोकीको सिरप खाँदा अपाङ्ग भएका चार जना बालबालिकाका परिवारलाई ८० हजार डलर क्षतिपूर्ति दिने निर्णय गरेको छ।