काठमाडौं – श्रीमती सुम्निमा खालिङले लगाएको घरेलु हिंसाको आरोप कलाकार पवन खतिवडा ‘म्याकुरी’ले खण्डन गरेका छन् । उनले बुधबार साँझ पत्रकार सम्मेलन गरी आफू नै उल्टै श्रीमतीबाट पीडित भएको दाबी गरे ।
बुधबार साँझ पत्रकार सम्मेलन गर्दै उनले श्रीमतीबाट पाएको विभिन्न दुःख सबैमाझ शेयर गरे । श्रीमती सुम्निमाले अर्को युवतीलाई गर्भवती बनाएको भनेर लगाएको आरोपको समेत उनले खण्डन गरे ।
‘मेरो शुक्रकिटमा समस्या देखिएकाले बाउ बन्न योग्न छैन’, उनले भने ‘हामी विवाह हुँदादेखि बच्चाको योजनामा थियौँ । बच्चा नभएपछि बानेश्वरको एक अस्पतालमा जाँच गर्दा मेरो शुक्रकिटमा समस्या देखियो ।’ उनले यसका लागि आफूले औषधि पनि सेवन गरेको सुनाए ।
पवनले भने, ‘हामी विवाह हुँदादेखि बच्चाको योजनामा थियौं । बच्चा नभएपछि बानेश्वरको एक अस्पतालमा जाँच गर्दा मेरो शुक्रकिटमा समस्या देखियो । मैले औषधि पनि सेवन गरेको थिएँ ।’
सुम्निमासँग आफूले डिभोर्स मागेको कुरा भने पवनले स्वीकार गरेका छन् । सुम्निमाले सुन किन्न पैसा मागेर नक्किली गहना किन्ने, मदिरा खाएर झगडा गर्ने, आफूलाई आक्रमण गर्ने, मामा साइनो लगाएर अन्य पुरुषसँग निकट भएको थाहा पाएपछि आफूले डिभोर्स मागेको पवनको दाबी छ ।
सुम्निमाले आफू कुलतमा नफसी पवनले सुधार केन्द्रमा राखेको आरोप लगाएकी थिइन् । उनले यो आरोप पनि सत्यभन्दा टाढाको रहेको दाबी गरे । मदिरामा खाएर घर–टोलमा ‘बबाल’ गर्न लागेपछि सुधार केन्द्रमा लगेको उनले बताए ।
उनले भने, ‘सुधार केन्द्रले पनि उनलाई सुम्निमा राख्न सकेनौं निकाल्नु पर्यो भनेर फोन गरेको थियो ।’ दुईबीच अनावश्यक कलह बढेपछि छुटिने मनस्थितिमा पुगेको र कानुनी प्रक्रियामा रहँदै उनी मिडियामा आएको पवनको दाबी छ ।
सुम्निमा अन्य मानिसको उक्साहटमा लागेको जिकिर गर्दै पवन थप्छन्, ‘मेरो जीन्दगीलाई बर्बाद बनाउन खेल भइरहेको छ । मलाई सुम्निमालाई उकास्नेहरुले घरमै आएर आक्रमण पनि गरे ।’
श्रीमती सुम्निमा खालिङले आफुलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप सहित पीडित बनाएको भन्दै मिडियामा अन्तर्वार्ता दिएकी थिइन् ।
अन्तर्वार्तामा सुम्निमाले आफू हुँदा हुँदै पवनले अन्य केटीलाई गर्भवती बनाएको समेत आरोप लगाएकी थिइन् । आफू विरुद्ध श्रीमती सुम्निमाले बिभिन्न आरोप लगाए पनि पवनले पत्रकार सम्मेलन गर्दै आफ्नो कुरो बाहिर ल्याएका हुन् ।