कपिलवस्तु पुगेका ओलीले सरकारलाई यस्तो भन्दै दिए ४४० भोल्टको दनक

कपिलवस्तु –

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई नालायक भएको आरोप लगाएका छन् । ‘भारतलाई चार रुपैयाँमा बिजुली बेचेर ३८ रुपैयाँमा किन्ने यो सरकार नालायक नभए के हो त ?’ उनको प्रश्न छ ।

सदरमुकाम तौलिहवामा सोमबार अयोजित पार्टी प्रवेश तथा बृहत् जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारतलाई सस्तोमा बिजुली बेचेर महँगोमा किनी ९ रुपैयाँमा दिए पनि त्यो ऋण जनताकै टाउकोमा थोपरेको उनले आरोप लगाएका हुन् ।

‘कांग्रेस एक जमानामा ठूलो जुरो भएको बलियो साँढेजस्तो थियो,’ उनले भने, ‘अहिले एकापट्टि एउटाको र अर्कोपट्टि अर्कोको बैसाखी टेकेर हिँडिरहेको छ ।

कसैले बैसाखी नटेकौं न भने अगाडि हेरौं न एमाले कत्रो छ, बैसाखी नटेकेर हुन्छ भन्छ ।’ सबै मिलेर आए पनि एमालेसँग कोही लड्न नसक्ने उनको तर्क थियो ।

नेपालले अन्तरिक्ष र समुन्द्रमा आफ्नो अधिकार स्थापित गरेको बताउँदै नेता ओलीले नेपालले पाएको स्याटलाइट राख्ने ठाउँ अरुले नै लिइदिएको भए पनि आफूहरूले सो ठाउँ ओगटेर अन्तरिक्ष र समुन्द्रमा नेपालको अधिकार स्थापित गराएको दाबी गरेका छन् ।

आफूले मुलुकमा पानीजहाजको कुरा गर्दा कांग्रेसहरूले उडाएको भन्दै नारायणी र कर्णालीमा युवाहरूले मोटर बोट चलाएपछि अब समुन्द्रसँग जोडिन पानीजहाज चलाउन सकिने उनको तर्क थियो ।

गत संसदीय निर्वाचनमा सूर्य चिन्हबाट चुनाव लडेका सांसद वृजेशकुमार गुप्तालाई चार वर्षपछि औपचारिक रूपमा एमाले प्रवेश गराउन उनी यहाँ आएका हुन् । स्वतन्त्र राजनीतिक समूहका रूपमा हृदयेश त्रिपाठीको समूहबाट उनले एमालेसँग गठबन्धन गर्दै गत चुनाव जितेका थिए ।

लुम्बिनी प्रदेश सभा सदस्य धर्मबहादुरलाल श्रीवास्तव र कृष्णनगरका कुनालप्रताप शाहसहित विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्न आएकालाई ओलीले एमाले प्रवेश गराएका थिए ।

कार्यक्रममा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, सचिव टोपबहादुर रायमाझी र नायिका करिश्मा मानन्धरलगायतले देशैभर एमालेको लहर चलेकाले अरु दलले गठबन्धन गरेर पनि एमालेसँग प्रतिस्प्रर्धा गर्न नसक्ने दाबी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...