प्रहरीका वरिष्ठ हवल्दारसम्मलाई १६ वर्षमै पेन्सन दिन गृहकार्य

काठमाडौं – नेपाल प्रहरीका वरिष्ठ हवल्दारसम्मका कर्मचारीलाई १६ वर्षमै पेन्सनको सुविधा दिने सुझावसहित प्रतिवेदन तयार भएको छ ।

गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदनमा सेवा प्रवेश गरेको १६ वर्षमै पेन्सन हुने सुविधा दिनुपर्ने उल्लेख गरेपछि यसबारे गृहकार्य अघि बढाइएको हो ।

कार्यदलले यसअघि प्रहरी प्रधान कार्यालयले माग गर्दै आएको १६ वर्षमै पेन्सनको व्यवस्थालाई प्रतिवेदनमा समेट्दै गृहमन्त्री रमेश लेखकलाई १७ साउनमा प्रतिवेदन बुझाएको थियो । अब बन्ने संघीय प्रहरी ऐनमा यी विषय समेट्नुपर्ने सुझाव कार्यदलले दिएको छ ।

कार्यदलका संयोजक तथा सहसचिव आचार्यले १६ वर्षमै पेन्सन सुविधा दिनुपर्ने विषय समेटेर प्रतिवेदन बुझाएको बताए । उनका अनुसार १६ वर्षदेखि अहिले कायम रहेको २० वर्षमा पेन्सन हुने विषय प्रतिवेदनमा समेटिएका छन् । मन्त्री लेखकलाई बुझाएको १४८ पृष्ठ लामो प्रतिवेदनमा प्रहरी कर्मचारीलाई तीन वर्गमा राखेर पेन्सनको सुविधा दिनुपर्ने सुझाव दिइएको छ । जसमा १६, १८ र २० वर्षमा पेन्सन हुने बारे सुझाव दिइएको छ ।

कार्यदलका सदस्य सचिव तथा मन्त्रालयका उपसचिव कृष्ण गैरेका अनुसार प्रहरी कार्यालय सहयोगीदेखि बरिष्ठ हवल्दारका कर्मचारीसम्मको हकमा सेवा प्रवेश गरेको १६ वर्षमै पेन्सन हुनुपर्ने सुझाव दिइएको छ । कार्यदलले १६ वर्षमै पेन्सन हुनुपर्ने दिएको सुझावमा कार्यलय सहयोगी, प्रहरी जवान, सहायक हवल्दार, हवल्दार र बरिष्ठ हवल्दार पर्छन् ।

त्यसैरी प्रहरी सहायक निरीक्षक (असई), प्रहरी नायव निरीक्षक (सई) र बरिष्ठ सईको हकमा भने सेवा प्रवेश गरेको १८ वर्ष पूरा भएपछि पेन्सन हुनुपर्ने सुझाव कार्यदलले दिएको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर)भन्दा माथिल्लो दर्जाका प्रहरीको हकमा भने अहिले कायमै रहेको सेवा प्रवेश गरेको २० वर्षमा पेन्सन हुने व्यवस्था समेटिएको छ ।

१६ र १८ वर्षमा पेन्सन हुने व्यवस्थाको सुझाव दिए पनि जागिर छाड्दा पाउने सुविधा तथा पेन्सन भने २० वर्ष पूरा भएपछि मात्रै पाउने गरी दिनुपर्ने सुझाव दिइएको छ । यसकारण राज्यलाई आर्थिक भार नपर्ने तर्क कार्यदलले गरेको छ । ‘१६ वर्षमा पेन्सन भएर जागिर छाडेको कुनै प्रहरीले २० वर्षपछि मात्रै पेन्सन पाउने हुँदा यो चार वर्षको बीचमा कुनै तलवभत्ता नपाउने हुँदा राज्यको आर्थिक भार पर्दैन,’ गैरेले भने ।

नेपाली सेनामा पनि अहिले कार्यदलले सुझाव दिएको जस्तै फरक फरक सेवा अवधिमा पेन्सन हुने व्यवस्था छ । कुनै समय प्रहरीमा जस्तै नेपाली सेनामा पनि १६ वर्ष सेवा गरेपछि पेन्सन हुने व्यवस्था थियो । सैनिक सेवा नियमावली संशोधन गर्दै २८ वैशाख २०६० पछि भर्ना भएका फलोअर्स र सिपाहीहरुको पेन्सन अवधि १६ बाट बढाएर २० वर्ष पु‍र्‍याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...